


काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले संसदमा काँग्रेसको प्रस्ताव सफल हुने परिस्थिति बनेपछि मात्र सरकार निर्माणको कदम चाल्ने बताएका छन् । नेपाल विद्यार्थी संघद्वारा आयोजित नविन्द्रराज जोशीको १२ औं पुन्यतिथीको श्रद्धाञ्जलीसभामा सचेतक खाणले अविश्वासको प्रस्ताव पास हुने अवस्था आए मात्र दर्ता गरिने बताए ।
खाणले प्रधानमन्त्री केपी ओलीले भने नैतिकता आधारमा अब पदबाट राजीनामा दिनु पर्ने बताए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरेसँगै प्रधानमन्त्री ओलीमाथि नैतिकताको गम्भीर प्रश्न खडा भएको उनको भनाइ छ । यस्तै उनले मुलुकलाई एउटा अन्योलमा राख्न नहुने बताए ।
Advertisement



साथै नेपाली काँग्रेसले संसदमा बहुमत पुर्याएर सरकार गठनको लागि अगाडि बढने पनि प्रष्ट पारे ।
खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएर जिताहा शासक जस्तो गर्दै हिँडेको बताएका छन् । सर्वोच्च अदालतको फागुन ११ को फैसलापछि पनि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा नदिएको खाणले बताए ।

खाणले भने, ‘राजनीतिमा नैतिकता हुन्छ, मूल्य हुन्छ । ‘मैले सोचेको थिएँ फागुन ११ को सर्वोच्चको फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिने छ भनेर । अहिले पनि बडो जिताहा शासक जस्तो गरेर हिँड्ने कुराले आज आमनागरिकमा के पर्छ होला?’
अनैतिक कामको जिम्मेवारी नलिने र आत्मसमीक्षा नगर्ने व्यक्तिहरुका कारणले आज राजनीति बदनाम भएको खाणले बताए । ‘सबै नीतिको माउ नीति राजनीति हो । राजनीतिज्ञले कस्तो आदर्श र चरित्र देखाउँछन् ? त्यसको प्रभाव आम जनतामा पर्छ । त्यस्तै अनैतिक कामको जिम्मेवारी नलिने, आत्मसमीक्षा नगर्ने व्यक्तिहरुका कारणले आज राजनीति बदनाम छ । मान्छेहरुले राजनीति भनेपछि फट्याइँ, ठग्ने नै हो भन्ने ठानेका छन्,’ उनले भने ।
साभार: रातोपाटी





