२०८३ कार्तिक १२

ओली पक्षको केन्द्रीय समितिको आकार बढेको बढ्यै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको अस्तित्व रक्षाका लागि धमाधम पद बाँड्न थालेका छन् । नेकपाको प्रचण्ड–माधव पक्षले करिब ७० प्रतिशत केन्द्रीय सदस्यको उपस्थितिमा आफूलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएपछि ओलीले आफ्नो गुटलाई नै राजनीतिक दलका रुपमा परिणत गर्ने जमर्को गरेका छन् । सोही क्रममा उनले धमाधम केन्द्रीय समिति विस्तार गरेका छन् ।


Advertisement


दुई पटक केन्द्रीय समिति विस्तार गर्दै उनले आफू पक्षीय केन्द्रीय सदस्यको संख्या एक हजार पाँच सय एक पु-याएका छन् । नेकपा राजनीतिक रुपमा विभाजन भएसँगै पूर्व एमालेबाट ठूलो हिस्सा नेकपाको प्रचण्ड–माधव पक्षमा समर्पित भएको र पूर्वमाओवादीका केही केन्द्रीय नेताबाहेक सबैजसो नेता–कार्यकर्तासमेत सोही पक्षमा कायम रहेको अवस्थामा ओलीले केन्द्रीय समितिमा धमाधम मनोनित गर्दै केन्द्रीय कमिटीको आकार ठूलो देखाउने प्रयास गर्न थालेका हुन् ।

उनले केन्द्रीय समितिमा थप मनोनित गरेर केन्द्रमा आफ्नो आकार ठुलो रहेको देखाउने प्रयास गरेका छन् । ओली पक्षको संगठनात्मक अवस्था निकै कमजोर रहेको सुदूरपश्चिम प्रदेशसमा समेत ओलीले केन्द्रीय सदस्य पद बाँड्दै आफ्नो गुटलाई बलियो देखाउने प्रयास गरेका छन् । संगठनात्मक अवस्था सबैभन्दा कमजोर रहेको सुदूरपश्चिम प्रदेशबाट ओलीले करिब एक सय जनालाईं केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

उल्लेखनीय छ, ओलीले अहिले पनि पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच एकतापछि बनाइएको विधानकै हवाला दिएर दलीय राजनीतिक गतिविधि गर्दै आए पनि नेकपाको विधानमा ४४१ जनाको केन्द्रीय कमिटी हुने उल्लेख छ । ‘परिवर्तित परिस्थितिअनुसार लिइएको निर्णय हो यो, अहिले नेकपाले संक्रमणकाल झेलिरहेको छ, संक्रमणकालमा सबै कुरा विधानमा टेकेर नै हुन्छ भन्ने अपेक्षा गरिनुहुँदैन,’ ओली पक्षका एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘हाम्रो ध्यान वैशाखमा हुने निर्वाचन र पार्टीको महाधिवेशनमा केन्द्रित छ । त्यसअनुसार नै अहिले राजनीतिक निर्णयहरु भएका हुन् ।’

उनका अनुसार पार्टी छाडेर कोही जान्छ भने उसले छाडेको ठाउँमा रिक्तता नै हुनुपर्छ भन्ने हुँदैन । त्यसैले पनि रिक्त स्थानमा मनोनयन गर्नु र केही नयाँ साथीलाई जिम्मेवारीमा ल्याउने राजनीतिक निर्णय नेतृत्वले गर्न सक्ने उनको भनाइ छ । आवश्यकताअनुसार केन्द्रीय समितिको आकार अझै बढ्न सक्ने उनले बताए ।  

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap