२०८३ कार्तिक ८

जुम्लामा विशेष कोभिड अस्पताल बनाइने योजना

जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना सङ्क्रमित र अन्य बिरामी उपचार गर्न एउटै अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला) भएपछि कोभिड अस्पताल छुट्टै बनाउनुपर्ने अवस्था आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । जिल्ला खेलकूद विकास समितिको कभर्ड हलनजिक रहेको पूर्वाधार विकास कार्यालयको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको उहाँले जानकारी दिए ।


Advertisement


अस्थायी कोभिड अस्पतालका लागि आवश्यक भवन खोजी गर्न गठित समितिले पेस गरेको प्रतिवेदनको आधारमा पूर्वाधार विकास कार्यालय रहेको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको हो । उक्त भवनमा रहेको पूर्वाधार विकास कार्यालय जिल्ला समन्वय समितिभित्र रहेको तत्कालीन जिल्ला प्राविधिक कार्यालय रहेको भवनमा स्थानान्तरण गर्ने निर्णय पनि भएको छ । 

त्यसैगरी कोरोना सङ्क्रमितलाई उपचारका लागि अस्पतालसम्म ल्याउनका लागि एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ । यहाँका सात स्थानीय तहले कोभिड एम्बुलेन्सको भाडास्वरूप चार महिनामा रु ८६ हजारका दरले उपलब्ध गराउने गरी व्यवस्थापन गरिएको हो । जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४०४ पुगेको छ । तीन सय ७१ सङ्क्रमित निको भएर घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अन्य बिरामीको जोखिमलाई मध्यनजर गर्दै भिन्नै कोभिड अस्पताल बनाउने यसअघिको प्रस्तावमा सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाको संयोकत्वमा पूर्वाधार कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, नेपाल पत्रकार महासङ्घ र नागरिक समाज समेटेर पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

समितिले अनुगमन गरी प्रतिवेदन दिएपछि सोही आधारमा जिल्ला विपत् व्यवस्थापन समितिले निर्णय गरेको हो । यसैगरी जिल्ला विपत् व्यवस्थापन समितिले हिमपात पूर्वतयारी कार्ययोजना पारित गरेको छ ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap