२०८३ कार्तिक ९

नेपाली चियाले पायो आफ्नै ट्रेडमार्क

साभार: रातोपाटी

काठमाडौँ । अब विश्व वजारमा नेपाली ट्रेडमार्कको चिया चिनिने भएको छ । चियामा आत्मनिर्भर रहेको नेपालले भारतलगायत विभिन्न देशमा आफ्नो चिया निर्यात गर्दै आइरहेको थियो तर आफ्नो टे«डमार्क नहुँदा विभिन्न देशमा आ–आफ्नै ट्रेडमार्क राखेर बिक्री वितरण हुने गर्दथ्यो । अब त्यो समस्या समाधान हुने भएको छ ।

नेपाली अर्थोडक्स चिया अब ‘नेपाल टी क्वालिटी फर्म द हिमालयज’ को ट्रेडमार्कको नामले चिनिनेछ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आज इलामको फिक्कलमा एक कार्यक्रम गरी सो ट्रेडमार्कको घोषणा गरेका हुन् ।

नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका १२ वटा चिया उद्योग तथा सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न कृषि मन्त्री भुसालले आज इजाजत प्रदान गरेका हुन् ।  

ट्रेडमाकका लागि ४२ वटा चिया उद्योगहरूले निवेदन पेश दिएका थिए तर पहिलो चरणमा १२ वटा उद्योगले मात्र सो ट्रेडमार्क पाएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले दिएको जानकारी अनुसार इलामका सन्दक्फु टी प्रोसेसर्स प्रालि, हिमालयन सांग्रिला टी प्रोडयुसर्स प्रालि, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था लि, जस्बिर टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट प्रालि, नेपाल ग्रिन टी एण्ड स्पेसियालिटी, ओएसिस टी इन्डस्ट्रिज, तारागाउँ टी स्टेट, साखेजुंग हिल रेञ्ज चिया प्रशोधन उद्योग, तेह्रथुमका बोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया प्रशोधन उद्योग, सिंहदेवी चिया उत्पादक सहकारी संस्था लि. र संखुवासाका सगरमाथा टी स्टेट प्रालिले ट्रेडमार्क प्रयोग गर्न इजाजत प्राप्त गरेका छन् ।


Advertisement


कृषिमन्त्री भुसालले ट्रेडमार्क कार्यान्वयनमा आएसँगै यसको गरिमा कायम राख्न सबै चिया कृषक, संकलनकर्ता, उद्योग, ढुवानीकर्ता, प्याकेजर, उपभोक्ता एवं सम्बद्ध सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्न जरूरी रहेको बताए । चिया क्षेत्रको एउटा प्रमुख समस्या समाधान भएको बताउँदै उनले नेपाली चियाको ट्रेडमार्क कार्यान्वयनमा आएसँगै अब चियाको बजारीकरणमा त्यति समस्या नआउने दावी गरे ।

विगत एक दशक देखिको निरन्तर प्रयासपछि बल्ल नेपाली चियाले आफ्नै पहिचान पाएकोमा खुशी व्यक्त गर्दै मन्त्री भुसालले बोर्डले दिएको प्रतिवेदन अनुसार १२ वटा उद्योगले अनुमती पाएको बताए । नेपालको उत्पादित चिया विश्वमै अब्बल र गुणस्तर रहेको उल्लेख गर्दै उनले स्वच्छ हावापानी पाएर यस उर्बर भूमिमा उत्पादन भएको नेपाली चियाले सबै चिया पारखीहरूको मन जितेको बताए । ‘तर यति हुँदा हुँदै पनि आजसम्म हाम्रो चियाले आफ्नै पहिचान पाएको थिएन, आफ्नै नाम पाएको थिएन’ उनले भने, ‘हामीलाई थाहा छ, नेपालको चिया अन्य मुलुकको ट्रेडमार्क लागेर तेश्रो देशमा लामो समयदेखि बिक्री भइरहेको थियो । यसलाई रोक्न नेपाली चियाले आफ्नै पहिचान स्थापित गर्न जरूरी थियो ।’

नेपालमा चिया खेतीको सुरुवात भएको १५७ वर्ष भएको छ । वि.सं.१९२० मा इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराजसिंह थापाले इलाममा चिया रोपण गरेर शुरू भएको चिया खेती आज यहाँसम्म आइपुगेको छ । यति मात्रै हैन, आज देशको व्यापारघाटा ११ खर्ब पुगेको परिप्रेक्ष्यमा भारत लगायत तेश्रो मुलुकमा समेत चिया निर्यात गरी देशको अर्थतन्त्र उकास्न चियाको राम्रो भूमिका हुने मन्त्री भुसालको दावी छ ।

‘नेपाल टी क्वालिटी फर्म द हिमालयाज’ नामको ट्रेडमार्क उद्योग विभागमा २०७२ असार २२ गते नै दर्ता भएको थियो । तर यो ट्रेडमार्क प्रयोगमा ल्याउन केही कानुनी तथा प्राविधिक कठिनाइ थियो । ट्रेडमार्क दर्ता भएको थियो, तर यसको गरिमालाई कायम गर्नु चुनौतीपूर्ण विषय थियो ।

ट्रेडमार्क प्रयोग गर्ने चिया उद्योग, सम्बद्ध चिया उत्पादक कृषक, संकलनकर्ता र चियाको मूल्य श्रृंखलामा क्रियाशिल सबैको लागि मापदण्ड तय गरी निर्देशिका बनाउन केही वर्ष लाग्यो । बोर्डले यसमा घनिभूत छलफल गरेर निर्देशिका तयार गर्यो । अहिले त्यो कर्यान्वयनको अवस्थामा पुगेको छ । 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap