२०८३ कार्तिक १५

पाँच साथीले १५ लाखमा सुरू गरेको ‘अबिर’




अबिर भन्नासाथ हाम्रो दिमागमा के आउँछ? रङ, होइन त! 

आज यहाँ हामीले कुरा गर्न लागेको ‘अबिर’ चाहिँ रङ होइन, यो एउटा ब्रान्ड हो जसले अनेक डिजाइनका लुगा उत्पादन गर्छ। त्यो हो– ‘अबिर डिजाइनर हब’ र संक्षेपमा ‘अबिर’।

फेसनलाई प्राकृतिक रूपमा उत्पादित कपडासँग जोड्दै डिजाइनसम्बन्धी विषय पढेका पाँच जना साथी मिलेर सुरू गरेका हुन् ‘अबिर’।

सहकार्यमा छन् रश्मी तन्डुकार, बिनु बज्राचार्य, अञ्जली डंगोल, अनिशा महर्जन र रिकेश कस्ती। 

प्राकृतिक कपडा अर्थात सूती (कटन), बाँसको रेसा (बेम्बो), अल्लो, रेशम (सिल्क) आदिबाट बनेका कपडाको माग नेपाली बजारमा बढ्दै जाँदा अबिर सञ्चालनमा ल्याएको बताउँछिन् संस्थापकमध्येकी एक रश्मी तन्डुकार।

उनले भनिन्, ‘फेसनमा प्राकृतिक कपडा लगाउनुपर्छ भन्ने धारणा विकास हुँदै गएको छ। यसलाई मध्यनजर गर्दै अबिर डिजाइनर हब सुरू गरेका हौं।’ 

अबिर सञ्चालनमा आएको तीन वर्ष हुन लाग्यो। रश्मीका अनुसार प्राकृतिक रूपमा उत्पादित कपडाबाट बनेका, अपसाइकल गरिएका (पुराना कपडालाई नयाँ डिजाइन दिने), कुरुसले बुनेका गरी तीन थरी कपडा बजारमा पुर्‍याउने सोचले अबिर सुरू भएको हो। 



Advertisement



उनीहरूले सुरूमा बेम्बो र कटनबाट लुगा तयार पारे। सुरूमा आफैंले डिजाइन गर्दै कपडा बुन्दै कोशिस गरेको रश्मीले बताइन्। 

बेम्बो-कटन र पुराना साडीहरू संकलन भएपछि उनीहरूले फेसनअनुसार कपडा डिजाइन गर्न थाले। बजारको मागअनुसार लुगा तयार गर्दै जाँदा अबिर डिजाइनिङ हब फेसनका पारखीहरूको रोजाइ बन्दै गयो। उनीहरूले ललितपुरको कुपन्डोलमा अफिस राखे। बिस्तारै अबिरको उत्पादन बजार पुग्यो।

अबिर सञ्चालनमा आएको छ महिना मात्रै भएको थियो, कोभिड–१९ संक्रमणका कारण देश लकडाउन भयो। भर्खरै सुरू गरेको उत्पादन बन्द भयो। उनीहरूले पन्ध्र लाख रूपैयाँ लगानीबाट अबिर सुरू गरेका थिए। सञ्चालकहरू अन्योलमा परे।

रश्मीले भनिन्, ‘अबिर भर्खर बजारमा पुग्न लागेको थियो। लकडाउन भइहाल्यो। बिजनेसको आइडिया थिएन। सबै जना उस्तै थियौं। हामी के गर्ने, कसो गर्ने भन्ने अन्योलमा पर्‍यौं।’ 

कोरोना महामारीसँगै मास्कको माग बढ्यो। अबिरले आफ्नो ब्रान्ड बजारीकरणका लागि मास्क उत्पादन थाल्यो। करिब दुई वर्ष यसरी नै बित्यो। कोभिड मत्थर हुँदै गएपछि फेरि काम अघि बढ्यो। अहिले उनीहरूले अबिरको कार्यालय कुपन्डोल हाइटमा सारेका छन् जहाँ आकर्षक तरिकाले स्वदेशी उत्पादन सजाएका छन्। 

यी सामग्री विभिन्न जिल्लाका उत्पादन हुन्। रश्मीका अनुसार ‘कानमा लगाउने झुम्का, पर्स, जुत्ता, विभिन्न हस्तकला लगायतका थुप्रै सामग्री विभिन्न जिल्लाबाट जम्मा गरिएका हुन्।

अबिरमा विशेष गरी महिलाहरूले उत्पादन गरेका सामग्री पाइन्छन्। भक्तपुरका महिलाले हातले बुनेका की–रिङ, स्विटर, मोजा, टप्स, ट्राउजर चल्तीमा छन्। धरानका महिलाले कुरुसबाट बुनेका कुर्ती र आउटर पनि छन्। त्यसैगरी विभिन्न सामग्रीले बनेका झुम्का, संखुवासभाको अल्लोको कपडा, हेयर ब्यान्ड, पनौतीमा बनेका पर्स, ह्यान्ड ब्याग लगायत सामग्री छन्। 

रश्मीका अनुसार अबिरले आफ्नोसँगै अरू ब्रान्डका उत्पादनलाई पनि प्लेटफर्म दिएको छ। समग्रमा स्वदेशी ब्रान्डको बजारीकरण गर्नु अबिरको उद्देश्य हो। 

अबिर आफूले भने डिजाइनको काम गर्छ। साडी, कुर्ती, वानपिस, टिसर्ट, सर्ट, अफिसियल ड्रेस, अपसाइकल कपडाबाट बनेका ज्याकेट इत्यादि तयार गर्छ। यससँगै मागका आधारमा महिला र पुरुष दुबैका लागि लुगा बनाउँछ।

अबिरले ग्राहकको मागअनुसार उद्योगहरूबाट कपडा मगाएर सिजन, चाडपर्व र सांस्कृतिक सन्दर्भअनुसार लुगा तयार गर्छ। सबभन्दा बढी माग अफिसियल ड्रेसको छ।

काठमाडौं उपत्यकासँगै अन्य जिल्लाबाट पनि माग आउँछ। डिजाइन र अर्डरका लागि सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम माध्यम प्रयोग हुन्छ। डेलिभरीका लागि अनलाइन मार्केटिक दराजसँग सम्झौता छ। डिजिटल मार्केटिङ बढाउन सारथि कन्सल्टसँग सहकार्य गरेका छन्। 

अबिरका सञ्चालकहरू पसलहरू चलाउने योजनामा छन्। आफ्ना उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्य पनि छ। 

ललितपुरकी स्थायी बासिन्दा रश्मी बाल्यकालदेखि नै फेसन र डिजाइनमा रूचि राख्थिन्। अध्ययनका क्रममा ब्युटी शोहरूमा फेसन गर्ने र गराउने काममा सघाउँथिन्। फेसन डिजाइनका प्रतियोगिताहरूका सहभागी पनि हुन्थिन्। उनले ‘कलेज अफ आर्ट एन्ड फेसन डिजाइनिङ’ बाट स्नातक तह पूरा गरेकी छन्। फेसन डिजाइनमै काम गर्ने उनको इच्छा थियो।

‘हामी सबै जना मिल्ने साथी हौं। डिजाइनिङ पढेका र केही काम पनि गरेका हुनाले हाम्रो ब्रान्डिङ राम्रो छ,’ रश्मी भन्छिन्, ‘डिजाइनिङमा केही गरौं भन्ने हाम्रो उद्देश्य हो।’

उनका अनुसार प्राकृतिक कपडा उत्पादन गरेर स्वदेशी ब्रान्ड बनाउने तयारीका क्रममा जुरेको नाम हो अबिर। सहकर्मी पाँच जनाको नामको सुरूको अंग्रेजी अक्षर मिलाएर व्यवसायको नाम जुराएका हुन्।

अर्की सहकर्मी अञ्जली डंगोल लुगामा आकर्षक देखिने गरी कुरुसबाट बुट्टा भर्ने काम गर्छिन्। उनले यस्तो काम गरेको दस वर्ष भयो। 

‘घरमा दिदीले यस्तै काम गर्नुहुन्थ्यो। उहाँले गरेको हेरेर सिकेँ,’ अबिर ब्रान्डमा कुरुसका नयाँ डिजाइनहरू ल्याउने अञ्जलीले बताइन्। 

यी पाँच जना साथी ‘सबा नेपाल’ मा काम गर्दैगर्दा आपसमा जोडिएका हुन्। फेसन र डिजाइन धेरैको चाहना र चासो रहेको रश्मीको अनुभव छ।

भन्छिन्, ‘घरमै पनि फेसनबारे सम्झाउन, बुझाउन गाह्रो थियो। अहिले बिस्तारै परिवर्तन आएको छ। घरबाट पनि राम्रो साथ र सहयोग छ।’ 

उत्साही युवा उद्यामीहरूले सुरू गरेको अबिर डिजाइनिङ हबले आफूलाई नेपाली ब्रान्डको सूचीमा आफूलाई उकाल्ने क्रममा छ।

(अबिर डिजाइनर हबको फेसबुक लिंकका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८०८२३८१२२)


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap