


काठमाडौं । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठमाथि उनकै पार्टीका एक सांसदले हातपातको प्रयास गरेका छन् । सोही पार्टीका सांसद रामबाबु यादवले उनीमाथि हातपातको प्रयास गरेका हुन् ।
Advertisement


आफूले भनेका कुनै पनि योजना बजेटमा समावेश नगरिदिएको भन्दै सांसद यादवले मन्त्रीमाथि हातपातको प्रयास गरेका हुन् ।
“सडक, पूल, खानेपानीलगायतका योजना उहाँलाई नै टिपाएको हुँ,” सांसद यादवले भने, “तर एउटा पनि योजना बजेटमा समावेश भएन । किन परेन भनेर सोध्दा तपाईंले टिपाउनुभएन होला भन्ने जवाफ आयो ।”
सांसद यादवले आफूले टिपाएको या नटिपाएको भन्दै पत्र हेर्न आग्रह गरेका थिए ।
“मन्त्रीज्यूले पनि बेलामा टिपाउनुभएन भन्नुभयो, कर्मचारीले पनि बेलामा टिपाउनुभएन होला भन्दै मन्त्रीको नै बचाउ गरे,” यादवले भने, “मैले मितिसहित टिपाएको कुरा मन्त्रीको कार्यकक्षमै भेटियो ।”
सांसद यादवले आफू प्रत्यक्षबाट आएको तर समानुपातिकबाट आएको व्यक्ति मन्त्री हुँदा पनि आफूले टिपाएका योजना समावेश नगरिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
“मैले हातपात गरेको होइन, तर टेबल ठोक्ने क्रममा बोतल बजारेको हुँ, त्यो टुटेको छ,” उनले भने । मन्त्रालयले स्रोतले भने मन्त्रीमाथि हातपातको प्रयास भएको बताएको छ ।






