२०८२ मंसिर २३

ठूला दलबाटै आचारसंहिता उल्लंघन, मतदाता प्रभावित पार्न राहत वितरण

भक्तपुर ।आगामी साता हुने स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलबाट व्यापकरूपमा आचारसंहिता उल्लंघन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आज निर्वाचनबारे आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा यस्तो बताइएको हो । 


Advertisement


सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई प्रभावित पार्नेगरी मतदातालाई कम्बल र थर्मस बाँडिरहेको जानकारी पाएपछि त्यसलाई प्रहरी पठाएर रोकिएको बताउँदै उनले केही दलले आचारसंहिता विपरीत काम गर्न खोजिएकाले यस्ता कार्यक्रमलाई रोक लगाएको बताए ।

“जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिई भक्तपुरको सूर्यविनायक र चाँगुनारायणका केही वडामा मतदातालाई प्रभावित पार्नेगरी कम्बल र थर्मसलगायतका सामग्री बाँड्दै गर्दा तत्कालै पुगेर रोकेको बताउँदै, उनले भने,“यही बीचमा अनुमति लिन आएका करिब २० वटा कार्यक्रमलाई समेत निर्वाचनमा प्रभावित पर्ने देखेर रोक लगाएका छौँ । सम्मान र पुरस्कार वितरणजस्ता कार्यक्रम तथा आचारसंहिताविपरीत दलको गतिविधि समेतलाई रोक लगाउँदै आएका छौँ ।”

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले ठूला दलबाटै आचारसंहिता उल्लंघन भइरहेको जानकारी दिँदै १९ वटा ठाउँबाट आचारसंहिता उल्लंघन गरी राखिएको दलहरूको प्रचार सामग्री हटाएको बताए । यस्तै, जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयका प्रतिनिधिले भक्तपुरमा निर्वाचन आचारसंहिताविपरीत काम भइरहेको जनाउँदै मतदातालाई विभिन्न प्रलोभनमा पारी सामान बाँड्न शुरू गरेको बताए ।


    
प्रहरी उपरीक्षक श्रेष्ठले भने, “पार्टीका झण्डा, चुनाव चिह्न, फ्लेक्सलगायतका प्रचार सामग्री १८÷१९ ठाउँको हामीले हटाएका छौँ, कतिपय ठाउँमा त्यस्ता चुनाव चिह्न राखेका दलका स्थानीय नेता कार्यकर्तासँग त कतिपय ठाउँमा जिल्ला तहका नेतासँग कुरा गरेर हटाएका छौँ, यस्ता सामग्री राखेर आचारसंहिता उल्लंघन गर्नेमा चुनावमा रहेको मुख्य ६ दलकै रहेका छन् ।” पार्र्टी आफैँले अनुगमन गर्नुपर्नेमा आफैंले उल्लंघन गर्दै गरेको उनको गुनासो छ । 
    
यसैगरी, भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले विगतका निर्वाचनभन्दा कर्मचारी आधा कम, तर काम धेरै हुँदा कार्यसम्पादनमा चाप परेको बताए ।यद्यपि, काठमाडौंको तुलनामा भक्तपुरमा आचारसंहिता उल्लंघन ज्यादै न्यून रहेको दाबी गर्दै उनले त्यसलाई पनि रोक्न सक्दो प्रयास गरिरहेको जानकारी गरे।

यस्तै, जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले सञ्चारमाध्यम र सञ्चारकर्मीले मान्नुपर्ने निर्वाचन आचारसंहिताकाबारेमा जिल्लाका क्रियाशील पत्रकारलाई जानकारी दिएका थिए । उनले मतगणनास्थलमा सञ्चार कक्षको स्थापना गरेर सहजरूपमा मतगणनाको नतिजा सञ्चारकर्मीलाई उपलब्ध गराउने व्यवस्था गर्न, मतगणनास्थलमा मतपत्र खन्याउँदै गरेको तस्बिर तथा भिडियो लिने व्यवस्था गरिदिन आग्रहसमेत गरे  ।

Copy link
Powered by Social Snap