२०८३ कार्तिक १२

प्रधानमन्त्री देउवाले फेरि भने- भीम रावलले एमसिसीको विरोध गरेको सुहाउँदैन

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाबारे नेकपा एमालेका नेता भीम रावलले विरोध गर्न नसुहाउने बताएका छन्।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसिसी संसदमा प्रस्ताव गएको र त्यही प्रस्तावलाई अहिले अनुमोदन गरिएको देउवाको भनाइ छ।


Advertisement


रावल मन्त्री हुँदा एमसिसीबारे विरोध नगरे पनि अहिले विरोध गरेकोमा त्यो सुहाउने कार्य नभएको देउवा बताउँछन्।

आज नुवाकोटको तादी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै देउवाले एमसिसी नेपालको हितमा भएको बताए।

‘एमसिसी राष्ट्रको हितमा छ। यो अनुदान हो ऋण होइन,’ उनले भने, ‘यसले विकासमा फड्को मार्न सहयोग गर्छ। अमेरिकी सेना आउँछ भनेर झुठा प्रचार भएका छन् भ्रममा नपर्नू।’

रावलसमेत सहभागी मन्त्रिपरिषदले एमसिसी अगाडि बढाएकोले विरोध गर्न नमिल्ने उनले बताए।

‘भीम रावलजी ओलीको पार्टीको नेता हो। ओली क्याबिनेटले एमसिसी अगाडि बढाउँदा उहाँ मन्त्री हुनुहुन्थ्यो त्यसबेला बोल्नुभएन,’ उनले भने, ‘एमसिसीमा आफैँ संलग्न हुने अनि विरोध गर्न सुहाउँदैन।’

उनले एमसिसीलाई लिएर नबहकिन पनि आग्रह गरेका छन्। उनले विदेशसँग ऋण वा अनुदान लिँदा राष्ट्रको हितमा आँच आउने गरी सरकारले काम नगर्ने बताए।

आफू गाउँपालिका भवन उद्घाटन गर्न आएकोबारे प्रष्टाउँदै देउवाले उत्साह थपियोस् भनेर आएको बताए।

‘गाउँपालिका आएर भवन उद्घाटन गर्नु राम्रो होइन तर साथीभाइलाई उत्साहित होस् भनेर आएको हो,’ उनले भने, ‘पालिका भवन बनाउन प्रोत्साहन गर्न आएको हुँ। काम राम्रो गर्नुभएको छ।’

उनले उत्साहका साथ स्थानीय तह निर्वाचनमा सहभागी हुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका थिए।

यसअघि आजै प्रधानमन्त्री देउवाले नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्दै एमसिसीमा रावलले दुई जिभ्रे कुरा गरेको आरोप लगाएका थिए।

‘आफू क्याबिनेटमा हुँदा पास गरेर संसदमा ल्याउने। मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउने?,’ प्रधानमन्त्री देउवाले भने, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो। उहाँ त्यसबेला मन्त्री हुनुहुन्थ्यो। उसबेला दिमाग खुस्किएको थियो? थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँ?’

देउवाको अभिव्यक्तिपछि रावलले ट्वीट गर्दै त्यसको प्रतिवाद गरेका थिए। प्रधानमन्त्री देउवाले  आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको उनले बताएका थिए।

प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले जवाफ दिँदै प्रधानमन्त्रीले तथ्यहीन कुरा गरेको बताएका थिए। उनले एमसिसी संसदमा ल्याएका बेला आफू उपप्रधानमन्त्री नरहेको पनि बताएका छन्।

‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्री या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरूद्धको कत्य छोप्ने कुत्सित चाल हुनुपर्छ,’ रावलले भनेका छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap