प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
Advertisement
एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीलाई भेटन शनिबार बिहान उनकै निवास बालकोट पुगेका हुन्।
करिब एक घण्टा भेटवार्ता भएपछि प्रधानमन्त्री देउवालाई बिदाइ गर्न निस्केका अध्यक्ष ओलीले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताए। उनले भने, ‘उहाँसँग कुराकानी भयो, सद्धियो नि त। कुराकानी राम्रो भयो दुई जनाबीच।’
एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निष्काशन गरेका सांसदहरूलाई सांसद पद नरहेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ।
सोही विषयलाई लिएर एमालेले सर्वदलीय बैठक समेत बहिस्कार गर्दै आएपछि सत्तारुढ दलको शुक्रबार बसेको बैठकले ओलीलाई मनाउने जिम्मा कांग्रेस सभपति समेत रहेका देउवालाई दिएको थियो।
प्रधानमन्त्री देउवामाथि एमसिसी सम्झौता संसदबाट पारित गराउनुपर्ने दबाब पनि छ। तर ती विषयहरूमा छलफल गर्न बोलाइएको बैठकमा एमालेले सहभागी हुन नसक्ने अडान राख्दै आएको छ।
एमालेले आफ्नो पार्टीको संसदीय दलले निष्काशन गरेका माधव नेपालसहितका १४ जना संसदमा आएसम्म संसद अवरोधलाई निरन्तरता दिने अडान राख्दै आएको छ। प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवाद नै टुटेको अवस्थामा प्रधानमन्त्री देउवा ओलीलाई भेटन उनको निवास बालकोट पुगेका हुन्।