२०८३ कार्तिक १२

कांग्रेसले क्रियाशील सदस्य दोब्बर बनाउने, छानबिन समितिमा भने विवाद

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता छानबिन समिति गठनमा विवाद देखिएको छ । क्रियाशील सदस्यता शतप्रतिशत बढाउन सहमत संस्थापन र रामचन्द्र पौडेल समूह छानबिन समितिमा भने विभाजित भएका हुन् ।

बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यता साविकको संख्यामा १०० प्रतिशतसम्म बढाउन सकिने व्यवस्था गर्ने सहमति भएको छ । यसअघि ५० प्रतिशत मात्र थप्न सकिने भन्ने थियो ।

१३ औं महाधिवेशन हुँदा कांग्रेसमा ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्य थिए । नयाँ सहमतिअनुसार यो संख्या १० लाख पुग्न सक्ने नेताहरु बताउँछन् ।

‘हरेक ठाउँमा १०० प्रतिशत थपिन्छ भन्ने छैन । यो अधितकम सीमा मात्र हो’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टी एकतामा आएकाहरुलाई दिइने क्रियाशील सदस्य जोड्दा हाल कायम रहेको संख्या दोब्बर भने हुनसक्छ ।’

एकता प्रक्रियामा आएकाहरुलाई केन्द्रले दिने कि वडा तहबाट सिफारिस गर्ने भन्ने बहस छ । संस्थापन पक्ष केन्द्रबाट दिन चाहन्छ, तर रामचन्द्र पौडेल पक्षले वडा तहबाट सिफारिस भएर आएपछि मात्र केन्द्रले दिनुपर्ने मत राखेका छन् ।

यो भन्दा ठूलो विवाद वितरण गरिएको क्रियाशील सदस्यताबारे छानबिन गर्ने समितिमा छ ।

कांग्रेसमा नरहरि आचार्यको संयोजकत्वमा ७ सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने सहमति भएको थियो । यसका लागि संस्थापनबाट ३, पौडेल समूहबाट दुई र सिटौला समूहबाट एक जना राख्ने भनिएको थियो ।

तर स्वास्थ्यका कारण नेता आचार्यले समितिमा बसेर संयोजन गर्न असमर्थ रहने बताएका छन् । सभापति देउवाले आफू निकट रमेश लेखकलाई संयोजक बनाउने प्रस्ताव राखेका छन् ।

तर पौडेल र सिटौलाले त्यसको विरोध गरेका छन् । एक नेता भन्छन्, ‘अब पूर्वसहमति अनुसार नाम दिने र उहाँहरुमध्येबाट एक जनालाई संयोजक तोक्ने विकल्प हुनसक्छ तर नरहरिजीको ठाउँमा फलानो भनेर सभापतिले तोक्ने हुनसक्दैन ।’

अर्को विकल्प भनेको सभापति र दुई महामन्त्रीमध्ये एक संयोजक बन्ने हुनसक्ने बताइएको छ । यसबारे अब केन्द्रीय कार्यसमितिमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा विभाग गठनबारे पनि छलफल भएको थियो । तर पौडेल समूहले नाम कुनै हालतमा नदिने अडान लिएको छ । ‘हामीले विभाग गठनलाई सार्वजनिक विषय बनाइसकेका छौं र अझै अगाडि बढाउनुपर्ने देखेका छौं’ एक नेताले भने ।

देउवाले भने विभागहरुमा मनोनयन नरोक्ने र अर्को समूहलाई ४० प्रतिशत छुट्याएर आफ्नो पक्षमा मनोनयन गर्ने संकेत दिएको एक नेताले बताएका छन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap