२०८१ श्रावण ८

आलेख ः मिथिलामा सुरु भयो जोगिराको रौनक




‘जोगिरा सररर, जोगिरा सररर ।’ ‘मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’ हाँ मिथिलामे राम खेलैय होली, मिथिलामे ।‘किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोलि । मिथिलामे ?’ ‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोलि । हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे ।’

‘जोगिरा सररर, जोगिरा सररर… ।’ ‘रङग बरसे भिगे चुनरबाली रङग बरसे, हो रङगबरसे भिगे चुनरवाली रंगबरसे’यी माथि उल्लेखित लोकभाका (जोगिरा)हरु तराई–मधेशमा होला आगमनको लोकभाका हो । तराई–मधेशमा अहिले होली पर्वको एक साता मात्रै बाँकी रहँदा साँझ पर्नेबित्तिकै गाउँ गाउँमा डम्फु, झ्याली,


Advertisement


ढोल, तासा र मृदङ्गलगायतका बाजाहरु बज्न थालेको छ भने चारैतिर जोगिरा (होली गीत) का धुनहरु सुनिन थालेको छ । होली पर्वको उत्साह र उमङ्गले उमेरकोसमेत पर्वाह नगर्दै जलेश्वर नगरपालिका–८ बजराही गाउँ बस्ने ७५ वर्षीय रामबाबु चौधरी दुई÷तीन दिनदेखि साँझ पर्ने वित्तिकै गाउँको उत्तरबारी टोलबाट हातमा डम्फु र झ्याली समातेर गाउँको चौकमा पुग्ने गर्नुहुन्छ । त्यसैगरी गाउँको पछियारी टोलबाट ७० वर्षीय अरुण पाण्डे, पूर्वारीटोलबाट ६० वर्षीय रामदेव महरा र दक्षिणबारी टोलबाट ५५ वर्षीय पवित्तर साहसहित थुप्रै व्यक्तिहरु आ–आफ्ना घर टोलबाट आएर चोकमा जम्मा हुने गर्दछन् ।

उमेरले पाका र कतिपयले राम्ररी हिँडडुल गर्न नसक्ने भए पनि उनीहरु गाउँको चारैदिशाबाट गाउँकोबीच चोकमा कुनै सभा, सम्मेलन, बैठक, बहस वा छलफल गर्नका लागि जम्मा हुँदैनन् । बरु आपसी भाइचारा, प्रेम, सद्भाव, सुखदुःख साटासाट गर्न र पुस्तौँदेखि चल्दै आइरहेको जोगिराको संरक्षण र प्रवद्र्धनका लागि छलफलमा जुट्ने गरेका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथको मन्दिरदेखि मात्रै ५०० मिटरको दूरीमा उत्तरपट्टी रहेको सानो गाउँ बजराहीमा साँझ पर्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा (होलीका गीत) सुनिन थालेको छ । होलैयाहरु (जोगिरा गाउनेहरु) एकै स्वरमा लय हालेर सबैले गाएको जोगिरा सुन्दा बजराही गाउँको टोलटोलमा आ–आफ्ना घर आँगनमा बसिरहेका जो कोही पनि प्रसन्न एवं खुसी हुने गर्दछन् ।



साँझ ७ बज्न नपाउँदै होलैयाहरुले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजाहरु लिएर विभिन्न धुन र सङ्गीतमा झुम्मिन थाल्छन् र राति ११÷१२ बजेसम्म जोगिरा निरन्तर रुपमा चलिरहन्छ । विभिन्न प्रकारका गीत, चुट्किला, हाँसो ठट्टा र जिस्काउने तीतामीठा वाक्य र शब्दहरुलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेको भीड लाग्ने गर्दछ भने जोगिराको क्रममा हुने नाचगानमा समेत ठूलो सङ्ख्यामा सहभागी हुने गरेकोे होलैया (जोगिरा गाउने) बौएलाल महराले बताउनुभयो । पौराणिक कालदेखि नै जलेश्वर नगरपालिका–८ बजराही गाउँका जोगिरा टोली निकै चर्चित र नामचलेको छ भने यहाँको जोगिरा टोलीमा हिन्दू र मुस्लिम दुवै समुदायको सहभागिता हुँदा आपसी सद्भाव झन बढेको स्थानीय ७५ वर्षीय भुट्टा साहको भनाइ छ ।

अन्य गाउँ ठाउँमा हिन्दूको पर्वमा मुस्लिम सहभागी नहुने र मुस्लिमको पर्वलाई हिन्दूले चासो नलिने सामान्य मान्यता रहेको बीच महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–८ बजराही गाउँमा यस कुरालाई स्थानीय दुवै समुदायका युवा तथा बुद्धिजीवी अगुवाहरुले पछौटेपन तथा विकासका अवरोध भन्दै यस सामाजिक विभेद्लाई चिरेर अगाडि बढेको अवस्था छ । अहिले प्रत्येक दिन साँझ जोगिराको धुनमा दुवै समुदायका युवाहरु एकैसाथ गाउँदा, नाच्दा र एकैसाथ हाँसो ठट्टा गर्दा वास्तवमै यस गाउँमा कुनै विशेष जात, धर्म वा वर्गको अधिपत्य वा भेदभाव नभएर अनेकतामा एकता रहेको दर्शाउँछ ।

यस गाउँमा वर्षौदेखि यहाँका मुस्लिमहरु हिन्दूको पर्वमा र हिन्दूहरु मुस्लिमको चाड पर्वमा एकसाथ उभिएर चाडपर्व मनाउनुका साथै आपसमा खुसी साटासाट गर्दै आएका छन् । वडा नं ७ अनकार गाउँमा पनि बर्सेनि सर्वसाधारण स्थानीय बासिन्दासहित जनप्रतिनिधि पनि जोगिरामा उत्साहजनक रुपमा सहभागी हुने गरेको स्थानीयवासी शङ्कर कापर बताउनुहुन्छ । वडा नं ७ का वडाध्यक्ष रामछविला यादवका अनुसार होलीको अवसर पारेर जोगिरा गाउनकै लागि युवाहरु परदेशबाट गाउँ फर्किएका छन् । नेपाल तथा भारत समेतको सम्पूर्ण मिथिलाञ्चलवासीलाई मनपर्ने जोगिरा महोत्तरीको जलेश्वर नगरपालिकामा मात्रै सीमित नभएर जिल्लाको पिपरा गाउँपालिका–७ बनौली गाउँमा पनि निक्कै धुमधामका साथ मनाउने गरिएको पूर्व वडाध्यक्ष रुपेश झाले बताउनुभयो ।

स्थानीय ६५ वर्षीय बैद्यनाथ चौधरी गाउँकासबै उमेर समूहका मानिस एउटै मञ्चमा बसेर जोगिरा गाउने, हाँस्ने, हसाउने, कथा, कहानी र जीवनका अनुभवहरु साटासाट गर्दै देवीदेवताप्रति भक्तिभाव, ठूलालाई आदर सत्कार र सानालाई स्नेह बाँड्ने प्रचलन रहेको बताउँनुहुन्छ । कवि कोकिल विद्यापतिको जन्मथलोसमेत रहेको सो गाउँमा विगत दुई÷तीन दिनदेखि रातिको बेला होलैयाहरुको भीडले मेला जस्तै लाग्ने तथा उनीहरुले गाउने गीतले गाउँ नै गुञ्जायमान हुने गर्दछ । वडा नं ९ बथनाहा गाउँ पनि यतिबेला जोगिरामा रङ्गिएको छ । स्थानीय राजनीतिकर्मी चन्दन दुबेका अनुसार साँझ पर्न नपाउँदै होलैयाहरुले ढोल बजाउन, झ्याली पिट्न, हारमोनियम बजाउन र गीत गाउन सुरु गरेपछि राति अबेरसम्म गाउँमा खुसीयालीपूर्व रमाइलो गर्दछन् ।

प्रत्येक वर्ष झै यसवर्ष पनि होली पर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँ–गाउँमा “जोगिरा” (एक प्रकारको गीत) गाउन सुरु भएको छ । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लाको प्रत्येक गाउँ टोलमा फागुन महिनाको १२÷१३ गतेदेखि नै प्रत्येक रातिको बेला ढोल, तासटा, मृदंग, डम्फु, झ्यालीलयायतका बाजागाजाका साथ जोगिरा गाउन सुरु भएको विभिन्न पालिकाबाट स्थानीयवासीले बताएका छन् ।

‘फागुन आयो, होली ल्यायो’
‘मारो भरभर कर पिचकारी’
‘होली आयो, मस्ती छायो’
‘मारो भरभर कर पिचकारी’
‘जोगिरा सररर, जोगिरा सररर ।’
‘कई हातका धोती पहना, कई हात लपेटा’
‘कई घाटका पानी पिया, कई बापका बेटा’
‘जोगिरा सररर, जोगिरा सररर ।’

यस्ता सयौं लोकभाका, गीत, चुटकिला, हाँसो ठट्टा र दुःख बिर्साएर खुसी साटासाट गर्ने महापर्वको रुपमा होली मनाउने गरिन्छ । महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारादेखि र भारतका मधुबनी र दरभङ्गासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा पर्व मनाउने गरिन्छ । जोगिराको धुन र लयले गाउँगाउँलाई सङ्गीतमय पारेको बेला जोगिरा गाउनकै लागि अहिले रातको बेला युवा तथा वयोबृद्धलाई घरघरबाट तानेर ल्याई राति अबेरसम्म जाग्राम गराउने तथा जोगिराहरु गाउन लगाउने गरिएकोे जलेश्वर नगरपालिका–६ का बासिन्दा प्रवीण साहले बताउनुभयो ।

उहाँले होलैयाहरुले जोगिराले एक आपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरु रातिको बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने, सुन्ने र सहभागीसमेत हुने गरेको बताउनुभयो । प्रायः होली पर्वभन्दा १५ दिन पहिले सुरु हुने जोगिरा गायन मिथिलाञ्चलको प्रत्येक गाउँगाउँमा भइसकेको छ भने । जोगिरा गायन होली पर्वको एक दिन पहिलेको रातिसम्म गाइने प्रचलन छ ।

जोगिरा मिथिलाञ्चलसहित सम्पूर्ण देशकै धरोहर एवं सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष ध्यान दिनु जरुरी रहेको बताउनुहुन्छ जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार । जोगिराले परम्परा झल्काउने, सदभाव बढाउने र जोगिरा समेतलाई संरक्षण गर्नुपर्नेमा कतिपय भोजपुरी भडकिलो गीत, डिजे बाजाको चर्को आवाज र मदिरा सेवनकर्ताहरुले हो–हल्ला गर्ने प्रवृत्ति बढेकामा भने उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।

Copy link
Powered by Social Snap