२०८१ बैशाख १३

बोर्डिङका विद्यार्थी अनलाइनमा पढ्दै, सरकारीकाले बिर्सिसके पढाइ

कोरोना महामारी पहिले नै सरकारी स्कुल र निजी स्कुलका विद्यार्थी र उनीहरूको पढाइमा भिन्तता थियो।

निजी स्कुलको पढाइ सरकारीभन्दा राम्रो हुन्छ भन्ने धारणा समाजमा छ।

यो भिन्नतालाई अझै गहिर्‍याएको छ महामारीमा भएको स्कुल बन्दले। निजी स्कुल पढ्ने विद्यार्थीहरू ल्यापटप र मोबाइलमा भएन पनि अनलाइन क्लास लिइरहेका छन्। सरकारी स्कुलका विद्यार्थी के गरिरहेछन् त?

धनगढी उपमहानगरपालिका- १५ का १२ वर्षीय देवसिंह रानालाई हामीले यही प्रश्न सोधेका थियौं। उनी सरकारी स्कुलमा पढ्छन्।

‘कोरोनाले हाम्रो स्कुल बन्द छ,’ उनले भने, ‘हामी दिनभरि माछा मार्न जान्छम्।


Advertisement


उनी अहिले कक्षा ८ मा पुगे।  केही दिनअघि आएको रिजल्टमा उनी ७ कक्षाबाट पास भएका हुन्। 

कोरोनाको दोस्रो लहर फैलिएपछि उनले परीक्षा भने दिन पाएका थिएनन्। परीक्षा दिन नपाए पनि उनी पास भए।

कैलालीमा जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको थियो। त्यसपछि उनको स्कुल बन्द भयो। स्कुल अझै खुलेको छैन।

लामो समय स्कुल बन्द भएपछि आजभोलि बल्छी उनको साथी बनेको छ। उनले २५ रुपैयाँ आमासँग मागेर बल्छी र धागो किनेका छन्। एक आफूलाई र अर्को भाइलाई दिएका छन्।

बिहान नास्ता खाएपछि उनी ओसिलो ठाउँमा फरूवाले खनेर माटोमा लुकेका गड्यौला निकाल्छन्। गड्यौला हाल्ने बोत्तल बनाएका छन्। अलिकति माटोसँगै गड्यौलालाई त्यही बोतलभित्र राख्छन्।

बल्छी र गड्यौला बोकेर उनी बिहानै निस्कन्छन्।

अहिले तराईमा गर्मी निकै बढेको छ। साउने झरी परिरहन्छ। आकाशे पानीले भर्खरै रोपाइँ गरिएका धानका गह्रा भरिएका छन्।  कुलो र  सडक किनारका नालामा पनि पानी बढेको छ।

देवसिंह र उनका भाइ दिनभरि यहीँ माछा मार्छन्।

‘स्कुल बन्द भएपछि म माछा मार्छु, बाख्रा पनि चराउन जान्छु,’ उनले भने।

दिनभरिमा एक किलोसम्म माछा मार्न सक्ने उनी बताउँछन्।

बल्छीसँगै खेलेर उनी हरेक दिन धेरै समय बिताउँछन्। केही समय घरायसी काम गर्छन्। पछिल्लो दुई महिनायता किताब खासै नपल्टाएको उनले बताए।

‘आजकाल स्कुल बन्द छ, घरमा पढ्दैन, काम गर्छु, खेल्छु,’ उनले भने।

उनका छिमेकी साथी बादल रानालाई भने बल्छी खेल्न आउँदैनन्। उनी स्कुल नगए पनि ममीको मोवाइलबाट अनलाइन कक्षा लिइरहेका छन्।

‘मेरो साथी त बोर्डिङ स्कुलमा पढ्छ। उसको स्कुलले अनलाइनबाट पढाउने गरेको छ,’ देवसिङले भने।

साथीले घरमा अनलाइनबाट पढेको देख्दा आफूले पनि त्यसरी नै पढ्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्छ।

उर्मा गाउँकै सुविता रानाले त पढाइ नै छोड्ने विचार गरेकी छन्। बेहडाबाबा माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्दै गरेकी उनको एसइई दिन नपाएरै छुट्यो।

‘पोहर साल पढाइ पनि दुई महिनामात्र भयो, अनि एसइईको फर्म पनि छुट्यो,’ उनले भनिन्।

उनले घरमा घाँस काट्ने, सफाइ गर्नेजस्ता काम गरेर अभिभावकलाई सघाउने गरेकी छन्।

‘अब फेरि पढ्न जाने कि नाइँ मलाई थाहा छैन,’ उनले भनिन्, ‘जान्न होला।’

धनगढी-१५ का अभिभावक कैलाश रानाले बोर्डिङमा जाने केटाकेटी केही घन्टा स्कुलसम्म जाने गरेका बताए।

‘बोर्डिङका बच्चाहरू स्कुल पनि जान थालेका छन्। मोबाइलबाट धेरैले पढिरहेका छन्। सरकारीमा पढ्नेहरूले त पढाइ बिर्सिसके,’ उनले भने।

शिवगंगा माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने उनको छोराले पनि स्कुल बन्द भएपछि नयाँ किताब पढ्न नपाएको उनले बताए।

‘नयाँ किताब छैन, आफैं के-के पढेजस्तो गर्छ, के पढ्छ के गर्छ हामीलाई आउँदैन,’ उनले भने।

स्कुल बन्द भएदेखि छोराले राँगा चराउने, खेतमा घाँस काट्नेजस्ता काम गरिदिने गरेको उनले बताए।

‘सरकारी स्कुलले घरमै पढाउन सकेका छैनन्, बोर्डिङमा फी धेरै भएर पढाउन सकिँदैन,’ उनले भने।

उनका घरमा इन्टरनेट चल्ने मोबाइल पनि छैन।

सामुदायिक विद्यालयमा पठनपाठनको काम बन्द अवस्थामा रहेका बेला यता निजी विद्यालयले भने कुनै न कुनै विकल्प अपनाएर विद्यार्थीलाई कक्षा दिइरहेका छन्।

धनगढी-१ का रोशन भट्ट सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्छन्। उनको स्कुलले अनलाइन कक्षा पढाउने एउटा एप नै बनाएर सबै विद्यार्थीलाई अनिवार्य कक्षा लिने व्यवस्था गरेको छ।

‘स्कुलमै गएर पढ्न नपाए पनि अनलाइन कक्षा लिदैछौं, रमाइलो हुन्छ। पढाइ पनि हुन्छ, साथीहरू, सरहरू सँग कुरा पनि हुन्छ,’ उनले भने।

उनको कक्षाका धेरै जना साथीहरू अनलाइन कक्षामा जोडिन्छन्। शिक्षकले त्यसै एपबाट गृहकार्य र अन्य गतिविधि गर्न अह्राउछन्।

धनगढीको सिद्धार्थ शिशु सदनका प्राचार्य सिबी चन्दले अनलाइन विधिबाट पढाइ गरिरहेका आफ्नो विद्यालयमा तल्लो कक्षाका विद्यार्थी निकै कम सहभागी हुने गरेको बताए।

‘अहिले १ देखि १० कक्षासम्मै पढाइ भइरहेकोछ। केही अनलाइनको पहुँच नभएर, केही अभिभावकसँगै बस्नुपर्ने भएर कम उपस्थिति हुने गरेको छ,’ उनले भने।

उनका अनुसार यसबेला शैक्षिक गतिविधिसँगै अरू विधि प्रयोग गरेर विद्यार्थीलाई प्रेरित गर्ने, मनोवैज्ञानिक रूपमा सहयोग गर्नुपर्ने देखिन्छ।

‘एकै घरमा वा छिमेकमा एकले अनलाइनबाट वा कुनै विधिबाट पढ्यो तर अर्काले पढ्न पाएन भन्ने यसले प्रभाव परिरहेको छ,’ उनले भने।

धनगढी-१५ का वडा अध्यक्ष फूलराम चौधरीले सामुदायिक स्कुलमा शैक्षिक गतिविधि बन्द अवस्थामा रहेको बताए।

उनले निजी विद्यालयहरूले भने विकल्प निकालेरै भए पनि पठनपाठन गरिरहेको बताए।

‘एउटा बोर्डिङ छ। उसले बिहान केटाकेटी बोलाएर हाजिर गराएर होमवर्क दिएर पठाउने गरेको छ, अनलाइनबाट पनि पढाउने गरेको छ,’ उनले भने।

सामुदायिक विद्यालयमा भने इच्छुकले पनि पढ्न नपाएको उनको भनाइ छ।

धनगढी उपमहानगरपालिका माध्यमिक शिक्षा शाखाका प्रमुख अकबर चन्दले सामुदायिक विद्यालयमा मोबाइलबाट फोन गरेर पढाउने तयारी भइरहेको बताए।

‘प्रशासनले निषेधाज्ञा जारी गरेकाले कक्षा सञ्चालन गर्न सकिएको छैन, टेलिकम, विद्यालय र उपमहानगरपालिकाको सहकार्यमा सिम विद्यार्थीलाई दिने र फोन कलबाट पढाउने तयारी भइरहेको छ,’ उनले भने।

कोरोनाको कारण लामो समय पढाइमा छुट्दा विद्यार्थीहरूमा नकारात्मक प्रभाव परेको शिक्षाविद् डाक्टर हेमराज पन्त बताउँछन्।

‘स्कुल बन्द हुँदा साथीभाइसँग घुलमिल गर्न पाएका छैनन्। उनीहरूमा मनोवैज्ञानिक असर परेको छ। मेहनत गर्ने बानी छुट्छ, अनलाइन कक्षा भौतिकजस्तो हुँदैन, ड्रप आउट हुने, कुलतमा फस्ने जोखिम बढेको छ,’ उनले भने।

उनले अहिलेको अवस्थामा विद्यार्थीलाई पढाउन अनलाइनबाहेक अरू विकल्प नभएको बताए।

‘केही नहुनुभन्दा अनलाइन कक्षा सञ्चालन हुनु राम्रो हो। यो  गाह्रो पनि छ। सबैलाई समेट्न पनि सकिँदैन। अभिभावक र विद्यार्थीले ध्यान दिने हो भने अनलाइनबाट पनि धेरै राहत पुग्छ’, उनले भने।

अभ्यास नगरेका कारण सामुदायिक विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन नसकेको उनको भनाइ छ।

‘सामुदायिक विद्यालयमा अनलाइन कक्षा सजिलो नभए पनि  विद्यालय र स्थानीय सरकारले नेटवर्क सञ्चालन गरेर अभ्यास गरे गाह्रो पनि छैन, यसबारे विद्यार्थी र अभिभावकलाई तयार पनि गर्नुपर्‍यो,’ उनले भने।

Copy link
Powered by Social Snap