२०८१ बैशाख १३

अर्को नेपालको कथाः सनैया

गत चैत महिनामा ‘सनैया’ को विमोचन कार्यक्रममा सहभागी भइरहँदा वैदेशिक रोजगारमा गएका नेपालीहरूबारे मेरो दिमागमा अत्यन्त सकारात्मक तस्बिर बसेको थियो। तिनीहरूले पठाउने रेमिट्यान्सका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव, समाजमा फेरिन थालेका सम्बन्धहरूको अनेकौं उदाहरण मेरो मानसपटलमा सजिव थियो। 

मूलतः दुई कारणले म त्यस्तो सोचिरहेको थिएँ।

पहिलो, दशकयता रेमिट्यान्सको कारण मैले आफ्नो गाउँ गोइठी (सप्तरी) मा देखेको जातीय, लैंगिक एवं आर्थिक सम्बन्धमा परिवर्तनका उदाहरणहरू।

दोस्रो, त्यससँग सम्बन्धित केही साहित्यको अध्ययन। सन् २००० यताका वर्षहरूमा डेभिड सेडन, जगन्नाथ अधिकारी, गणेश गुरुङ र रमेश सुनार, बन्दिता सिजापति जस्ता विद्वानहरूले वैदेशिक रोजगारको प्रभावबारे समाजशास्त्रीय, मानवशास्त्रीय र अर्थशास्त्रीय कोणबाट लेखेका अनेकौं अनुसन्धान प्रतिवेदनहरू मैले हालसालै अध्ययन गर्नुपरेको थियो।

आमरूपमा पुस्तक विमोचन कार्यक्रममा सहभागी हुनेहरूजस्तै मैले पनि औपचारिक सहभागिता जनाएँ। एक थान सनैया किनेँ। लेखक र प्रकाशकलाई बधाइ दिएर घर फर्केँँ।

केही समयपछि पढ्ने अवसर जुर्‍यो। किताबको पहिलो अध्याय सर्रर पढियो। लेखकको भनाइ खण्डले नै तान्यो। पढ्दै गएँ।

मेरो मनमा बसेको सकारात्मक तस्बिरहरूको एक–एक फ्रेम फुट्दै गयो। हरेक अध्यायपछि अर्को अध्याय पढिहाल्ने आतुरता थपिरह्यो। सँगै एउटा अनौठो खाले पीडा र छटपटी पनि महशुस भइरह्यो। पुस्तक पढेर सकिँदासम्म मन भारी भएर आयो। अनायासै आफूभित्र एक प्रकारको निरिहता महशुस हुन थाल्यो। यसबारे लेख्ने जोश आयो, दोहोर्‍याएर पढेँ।

‘सनैया’ को अर्थ खाडी मुलुकमा कामदारहरू राख्न रोजगारदाताबाट बनाइएको क्याम्प हो जहाँ आधारभूत सुविधा उपलब्ध गराइएको भए पनि अनेकौं मानवीय र सामाजिक सुविधाको अभाव हुन्छ।

यो पुस्तक मूलतः खाडी मुलुकमा जाने नेपालीले झेल्नु परेको सास्ती, दुःख, शोषण र संघर्षको इतिवृतान्त हो। पुस्तकमा कुल १८ वटा अध्याय जसलाई क्रमैसँग मिलाइएको, पढ्नेलाई पूरै सिनेमा हेरेजस्तो अनुभूति हुन्छ।

‘काठमाडौंमा भिसा झर्‍यो’ अध्यायमा कालिकोटका सोझा युवा राजेन्द्र शाहीको वैदेशिक रोजगारमा जाने सपना र म्यानपावर एजेन्टले उनलाई महिनौंसम्म दिएको सास्तीको विवरण छ। यसमा कैलालीका एजेन्ट ललितको काम गर्ने जाली शैली पनि छर्लंग हुन्छ। 

पुस्तकको हरेक अध्याय एउटा–एउटा पात्रमा केन्द्रित छ जसमार्फत वैदेशिक रोजगारको पूरै चक्र (अर्थात सपना देख्नुदेखि फर्केर आउनुसम्म) का कथा पस्किइएको छ। काठमाडौंमा भिसा झरेपछि उडान भर्नु र गन्तव्यसम्म पुग्नलाई खेप्नु पर्ने सास्तीको कथा ‘सेवा शुल्कको शासन’ अध्यायमा समेटिएको छ। यो अध्यायमा म्यानपावर कम्पनी, रोजगारदाता कम्पनीबीचको साँठगाँठ र नेपालको सरकारीपक्षको निरिहता एवं वैदेशिक रोजगारमा जान चाहनेले अनाहकमा तिर्नुपर्ने महँगो शुल्कबीच माकुराको जालो शैलीको जटिल सम्बन्धलाई केलाइएको छ।


Advertisement


यो त भयो नेपालबाट उडान भर्नुअघि र गन्तव्यमा पुग्नुसम्मको कथा। काम गर्ने देशमा पुगिसकेपछि त खुरुखुरु काम गर्न पाइन्छ होला लाग्न सक्छ तपाईंलाई। तर, त्यहाँको कथा झन् बेग्लै छ। त्यहाँका कथा जति दर्दनाक छन्, त्योभन्दा बढी अकल्पनीय लाग्छ। पुस्तकको चौथोदेखि एघारौं अध्यायसम्म पढ्दा त्यस्तो अनुभूति हुन्छ। 

खाडी मुलुकमा पुगेपछि कामदारलाई सबभन्दा पहिला अर्को करार पत्रमा हस्ताक्षर गराइन्छ जसमा नेपालमा भनिएभन्दा कम तलब र अन्य सुविधा उल्लेख गरिएको हुन्छ। कसैले आनाकानी गर्‍यो भने थर्काएर, धम्क्याएर पनि हस्ताक्षर गर्न बाध्य पारिन्छ। आफूलाई असहज भयो, काम गर्न मन लागेन, घर फर्किन कसैले सोच्यो भने त्यसपछिको सास्ती फेरि बेग्लै छ। खाडी मुलुकमा बनेका कानुन मजदुरको हितलाई होइन त्यहाँका मालिक र कम्पनीको हातमाथि पारेर बनाइएको हुन्छ।

कामदारलाई आफ्नो देश फर्किन पनि स्पोन्सरको स्वीकृति अनिवार्य चाहिन्छ। त्यहाँ स्पोन्सरसँग कामदारको भेट हुँदैन। स्पोन्सर स्थानीय हुन्छन्। कम्पनीवालाहरू विदेशी हुन्छन् जसले सालाना निश्चित रकम तिरेर कम्पनीको लाइसेन्स लिएको हुन्छ। कामदारको स्पोन्सर त के, कम्पनीका साहुसँग पनि भेट हुँदैन। केबल आफ्नो हाकिमसँग मात्र हुन्छ जो आफैं कामदारका रूपमा कार्यरत हुन्छन्। यी सबै विवरण ‘करारपत्रको झेल’, ‘कफलाको अंकुश’ अध्यायहरूमा उल्लेख छ। 

अब सुरू हुन्छ काम थालेपछिको कथा। उसै पनि भनिन्छ, नेपालीहरूले विदेशमा पाउने भनेको ‘थ्रीडी वर्क’ हो। अर्थात ‘डर्टी, डिफिकल्ट एन्ड डेन्जरस वर्क’। खाडी मुलुकमा त ‘मोस्ट थ्रीडी’ भने हुन्छ।

‘रियालमा झुन्डिएको जीवन’ अध्यायमा काम गर्दागर्दै दुर्घटनामा परेर मृत्यु हुँदाको समय विवरण, साथी गुमाउँदाको पीडा र मनोदशा अनि कम्पनीका मानिसको असंवेदनशील व्यवहारको फेहरिस्त छ। आफ्नै साथी गुमाउँदा आँशु झार्ने वा सुँक्सुकाउन पनि नपाउने वातावरणबीचमा कामदारको मनमा राति सुत्दा कस्तो चिन्ता र भय उत्पन्न हुन्छ, ‘हररात ऐंठन हुन्छ’ अध्यायमा गज्जबसँग केलाइएको छ। 

अत्यन्त गर्मीमा अनेकौं अभाव र कष्टबीच जोखिम उठाएर काममा खटिने नेपालीले आफ्नो शरीरमा पानी र पौष्टिक तत्वको अभाव भएको पत्तै पाउँदो रहनेछ। साँझको खाना खाएर स्वस्थ्य सुतेको मान्छे जब भोलिपल्ट उठ्दैन, त्यस्तोलाई सुतेको सुत्यै भन्दा रहेछन्। त्यसरी मृत्यु हुनेहरूको संख्या कतारमा मात्रै बर्सेनि करिब एक सय रहेछ। कतारमा वर्षभरिमा करिब दुई सय नेपालीको मृत्यु हुने गरेको छ। साथीको मृत्यु घटनालाई दिलदिमागमा बोकेर नेपालीहरू कसरी काम गर्दा हुन् र राति सुत्दा के सोच्दा हुन्, ‘हररात ऐंठन हुन्छ’ अध्यायमा पढ्न पाइन्छ। 

बागलुङका विष्णु सुवेदी पैसा कमाएर घरपरिवारको जीवनयापन सहज बनाउने उद्देश्यले कतार गएका हुन्छन्। तर केही दिनमै सवारी दुर्घटनामा परेर गम्भीर घाइते हुन्छन्। स्थानीय सुविधासम्पन्न हमाद अस्पतालको कोमामा उनलाई राखिएको हुन्छ। महिनौंपछि श्रीमती पार्वती सुवेदी पनि आफ्ना बच्चा आफन्तको जिम्मा लगाएर कामदारकै रूपमा कतार पुग्छिन्।

पार्वतीको उद्देश्य श्रीमानलाई भेट्ने र रोजगार पनि गर्ने हुन्छ। तर जब उनी अस्पताल पुग्छिन्, अस्पताल प्रशासनले अचेत अवस्थामा रहेका श्रीमानलाई लिएर नेपाल फर्किन दबाव दिन थाल्छन्। केही समय उनी आनाकानी गर्छिन् तर अस्पताल प्रशासनले पार्वती काम गर्ने कम्पनीसँग कुरा गरेर कि त विष्णुलाई जिम्मा लिनुपर्ने, नभए जागिर गुमाउनुपर्ने अवस्था सिर्जना गरिदिन्छन्।

बाध्य भएर उनी आफ्ना अचेत श्रीमानलाई लिएर नेपाल फर्किन्छिन्। केही महिनामै विष्णुको मृत्यु हुन्छ। वियोगान्त कथाजस्तै शैलीमा लेखिएको छ, ‘कोमामा कष्टकर जीवन’ अध्याय।

पुस्तक पढ्दै जाँदा गनिराम गुरुङको मरुभूमि बसाइमा केन्द्रित च्याप्टर ‘जंगलमा कानुन लाग्दैन’ अत्यन्त कहालीलाग्दो छ। उनी सात वर्षसम्म ऊँटका गोठालो भएर बसेका थिए। उनका मालिक साह्रै क्रुर थिए। गनिरामलाई कहिलेकाँही पाँच दिनसम्म खान नपाएर भौतारिनुपर्थ्य। कहिले ऊँटले खाने दाना नै खानुपर्थ्यो। उनलाई सबभन्दा पीडा गर्मीमा आराम गर्नुपर्दा हुन्थ्यो।

जसबारे एउटा विवरण यस्तो छ-

‘ऊँटको पछाडि दौडिँदा खाने-बस्ने टुंगो थिएन। कतै ओत लाग्ने छाप्रो थिएन। बगरमै खायो। बगरमै सुत्यो। बगरमै हिँड्यो। तालु घामले पोल्थ्यो। बढी गर्मी भएमा कपडाले तालु छोप्थे। एकदमै चर्को घाम भए चराले जसरी तातो बालुवा खोस्रेर फाल्थे। चिसो बालुवा नभेटिएसम्म खाल्डो खन्थे र त्यही खाल्डोमा बस्थे। मरुभूमिमा बग्ने हावाले त्यो खाल्डो पुरिदिन्थ्यो। हावाले बालुवा नझारेसम्म बस्न मिल्थ्यो। हावाले बालुवा खसालिदिएपछि फेरि खोस्रिनु पर्थ्यो। कैयौं रात बालुवाले पुरिदिन्थ्यो। राति बिउँझिनुपर्थ्यो। अलि गहिरो निद्रा पर्दा त बालुवाले घाँटीसम्म पुरिदिएको हुन्थ्यो। मरुभूमिमा यस्तो जोडले हावा चल्थ्यो, एकैछिनसम्म मैदानमा बालुवाको पहाड भइसक्थ्यो।’

पुस्तकमा तीन वटा अध्याय महिला केन्द्रित छ जसमध्ये दुइटामा रोजगारको खोजीमा खाडी मुलुक जान र त्यहाँ पुगेपछि घरेलु कामदारका रूपमा काम गर्दाको अवस्था चित्रण गरिएको छ। तुलनात्मक रूपमा नेपाली पुरुष कामदारभन्दा महिला कामदारको खाडी यात्रा बढी कष्टकर र झन्झटिलो रहेको बुझिन्छ।

अन्तिम अध्याय ‘तस्बीराको काठमाडौं यात्रा’ चाहिँ नेपाली महिलाहरूको नेपालभित्रकै संघर्षको विवरण हो। यो त्यस्तो विवरण हो जसमा कामका लागि श्रीमान विदेश गएका हुन्छन् तर त्यहाँ न त काम पाएका हुन्छन् न त सजिलै फर्किन पाउने अवस्था हुन्छ। त्यस्तो अवस्थामा आफ्ना श्रीमानलाई फर्काउन उदयपुरकी तस्बीरा कामी र नवलपरासीका सावित्रा सुवेदीले कस्ता–कस्ता संघर्ष गर्नुपरेको छ, सरकारी कर्मचारीलाई पनि म्यानपावर एजेन्टले कसरी फनफनी घुमाउँछ, यो अध्यायमा पढ्न पाइन्छ। 

वैदेशिक रोजगारमा जान, काम पाउन, काम गर्न सास्ती खेप्नु त परिहाल्यो, तर १२ वर्षसम्म एउटै कम्पनीमा काम गरिसकेर फर्किने बेलामा पाउनुपर्ने उपदान नपाउँदा कस्तो अनुभव हुँदो हो?

तपाईंलाई लाग्न सक्छ, जान बचे त लाख उपाय! छोड दिऊँ झन्झट, फर्किहालौं आफ्नो देश।

तर अर्घाखाँचीका नेत्रबहादुर पाण्डेले हरेश खाँदैनन्। आफ्नो उपदान पाउन कानुनी लडाइँको बाटो रोज्छन्। एक्लै संघर्ष गर्छन्। केही महिनाको कठोर अभाव सहितको संघर्षपछि न्याय पनि पाउँछन्। त्यो फैसला त्यही कम्पनीमा कार्यरत थप ११६ जना नेपालीका लागि सहयोगी नजीर बन्यो।

रोजगार क्रममा खाडी पुगेकोले आफ्ना कागजात हरायो, स्पोन्सर छोडेर हिँडेका वा अपराधको सजाय भुक्तानी गरिसकेकाले नेपाल फर्किन खोज्यो भने जेलमा बस्नुपर्दो रहेछ जसलाई ‘सफर जेल’ भनिन्छ। सफर जेलमा जान त्यहाँका प्रहरी (सुर्ता) ले पक्रिनुपर्ने। सुर्ताले पक्रेर जेल हालेपछि फर्किने कागजात तयार हुँदो रहेछ। जेल बसेर फर्किने यात्रा त सहज होला जस्तो लाग्न सक्छ हामीलाई तर हुँदो रहेछ ठीक उल्टो।

पहिला त सुर्ताले पक्रियोस् भनेर घुस खुवाउनुपर्ने। कैयौं दिन सुर्ताले नपक्रिँदा खुला आकासमै रात काट्नुपर्छ। त्यस्तो रात कटाइलाई नेपालीहरूले ‘जुनतारा गेष्ट हाउस’ को बसाइ भन्दा रहेछन्। जेल पुगेपछि बाँसको झयाङजस्तै मान्छे कोचिएको हुन्छ। ठाउँ यति अभाव हुन्छ कि उभिने र बस्नेको पालो लागेको हुन्छ।

बेलाबेला टोली नेताले भन्छन्, ‘ल अब उठेकाहरूको बस्ने र बसेकाहरूको उठ्ने पालो।’

यस प्रकरणमा रमाइलो के छ भने सुर्ताबाट पक्राइ दिनेदेखि जेलबाट सिधै स्वदेश फिर्ता पठाउनेसम्मको काममा संलग्न दलाल पनि नेपाली नै हुँदा रहेछन्। नेपालीलाई त्यसै वीर भनिएको होइन रहेछ, पढ्दाखेरि मनमा गुनिने कुरा।

सनैयामा अधिकांश नेपाली कामदारले भोग्ने दिनचर्याको कथा समेटिएको छ जुन दुःख, पीडा, सपना र संघर्षको सम्मिश्रण हो। तर अपवादका उदाहरण पनि नसमेटिएका होइनन्।

‘सन्जीबको उडान’ अध्यायमा कतारका राम्रा कम्पनीमा उच्च तहमा पुगेका युवाको प्रगति कथा समेटिएको छ भने ‘अहबक राजकुमार अहबक’ अध्यायमा स्याङ्जाका राजकुमार खत्रीको मेरियम नामकी कतारी युवतीसँगको रोमान्टिक प्रेम कथाको विवरण छ। 

यो पुस्तक पढिसकेपछि मैले लेखक होम कार्कीलाई सोधेँ, ‘तपाईंले लेखेका कथाहरू कुन आम नेपाली मजदुरको कथा हो र कुन अपवाद?’

उनको उत्तर थियो, ‘राजकुमारको प्रेम र सन्जीबहरूको उडान विरलै पाउने उदाहरण हुन्। खाडी मुलुकमा रहेको नब्बे प्रतिशत नेपाली युवाले जुन जीवन भोगेका छन्, अधिकांस अध्यायमा मैले त्यही नै लेखेको छु। कतारमा मात्रै सोह्र लाख नेपाली बस्छन्। यसो हेर्दा खाडी मुलुक त नेपाल बाहिर रहेको अर्को नेपाल जस्तो लाग्छ। मैले त्यही अर्को नेपालको कथा लेखेको हुँ।’

किताबमा कामदारको दुःखको विवरण मात्र छैन, त्यहाँ वैदेशिक रोजगारसँग सम्बन्धित खाडी मुलुक र नेपालको नीतिगत फेरबदलका तथ्यगत विवरण पनि छ। नेपालीहरू वैदेशिक रोजगारमा जाने पुरानै चलन हो तर त्यसमा कसरी गन्तव्यमा परिवर्तन हुँदै गयो, त्यसको पनि तथ्यगत विवरण पढ्न पाइन्छ। त्यसकारण, यो पुस्तक वैदेशिक रोजगारको नीतिगत अध्ययनमा रूचि राख्नेका लागि पनि उपयोगी हुनेछ। 

नेपाली युवाहरूको पीडा र संघर्षले बढी ठाउँ अवश्य पाएको छ तर पढ्दै जाँदा खाडी क्षेत्रका देशहरूको सामाजिक, राजनैतिक इतिहासको यथेष्ठ विवरण पनि समेटिएको छ। साथै बितेका तीन-चार दशकमा कतार लगायत मुलुकमा भएको भौतिक संरचनाको विशाल कायापलटका विवरण पनि उल्लेख छ, पढ्दा रोमाञ्चित भइन्छ। त्यस भेगका ठूल्ठूला एयरपोर्ट, एयरलायन्सहरू कसरी छोटो समयमा यति प्रगति गर्नसके होला, पढ्दै जाँदा मनमा एकप्रकारको जलन उठ्छ।

लेखकले घटना अध्ययन र सहभागितामूलक अवलोकन अनुसन्धान शैलीमा लेखेको यो लेख वैदेशिक रोजगारसँग सम्बन्धित साहित्यहरूको सूचीमा अतुलनीय ठहरिने अनुमान गर्न सकिन्छ। 

Copy link
Powered by Social Snap