२०८१ बैशाख १४

कमाउन विदेशै जानुपर्छ भन्ने सोच्थिन्, अहिले आफैं दिन्छिन् अरूलाई रोजगारी




आठ वर्षअघिको कुरा हो।

धनगढी उपमहानगरपालिका–९, बंग्राकटानकी शान्ति गिरी चिन्तित थिइन्। श्रीमान रामचन्द्रलाई विदेश जान कर गरिहन्थिन्।

उनीहरू श्रीमानश्रीमती दुवै बेरोजगार थिए। भौतिक सम्पत्ति भए पनि नगद कमाइको बाटो थिएन। खेतीबाट जेनतेन परिवार पालिएको थियो। पैसा सधैं अभाव हुन्थ्यो।

पैसा कमाउन विदेश जानुपर्छ भन्ने शान्तिको धारणा थियो। सोच्थिन्- हलो जोतेर उन्नति हुँदैन।

उनका श्रीमान रामचन्द्र भने सहमत थिएनन्। सोच्थे- पैसा कमाउन विदेश गइरहनु पर्दैन।

यही कुरामा उनीहरूको कहिलेकाहीँ ठाकठुक पनि पर्थ्यो।

एक दिन रामचन्द्रले अठोटका साथ शान्तिलाई भने, ‘तिमी ढुक्कले साथ देऊ, म आफ्नो ठाउँमा काम गरेर देखाउँछु, पैसा यहीँ हुन्छ।’


Advertisement


उनी आफ्नो जमिनमा कृषि व्यवसाय गरेर स्वरोजगार बन्न चाहन्थे। उनीहरूसँग साढे एक बिघा जग्गा थियो। त्यसमध्ये १४ कट्ठामा उनीहरूले आँप, कागती, लिची, कटहर र फलफूलका अन्य केही बिरूवा लगाए। यति काममा १५ हजार रूपैयाँ खर्च भयो।

अरूचिकै बीच शान्ति पनि रामचन्द्रसँग सहमत भएकी थिइन्। उनीहरूले लगन साथ बगैंचाको हेरचाह गरे। बगैंचा लोभलाग्दो देखिन थाल्यो। दुई वर्षपछि उनीहरूले कृषि फर्म दर्ता गराए। रोपेको तीन वर्षमा कागतीका बिरूवाले फल दिन थाल्यो। अरू बिरूवा पनि हुर्के।

कागती बजारमा बिक्री गरेपछि थोरैतिनो आम्दानी हुन थाल्यो। 

‘यसपछि विदेश जानुपर्छ भन्ने धारणा बदलियो,’ उनले भनिन्, ‘श्रीमान विश्वासका साथ काममा लागेपछि म पनि लागेँ। कागती बिक्री गरेर पैसा आउन थालेपछि हामी खुसी भयौं।’

बगैंचा लगाएको चार वर्षपछि उनीहरूले उत्पादित फलफूलबाट अचार बनाएर बेच्ने विचार गरे। शान्तिले ‘व्यावसायिक सीप तालिम केन्द्र’ बाट छ महिनाको अचार बनाउने तालिम लिइन्। तालिमपछि केही पैसा जुटाएर अचार बनाउन थालिन्। 

सुरूमा परीक्षणका लागि उनले थोरै अचार बनाइन्। एउटा बट्टामा प्याक गरेर गाउँघरमा देखाउँदै हिँडिन्।

‘आफ्नै बगैंचामा फलेको कागतीको अचार बनाएकी छु, मेरो हातको अचार खाइदिनुहोस्’ भन्दै आग्रह गरिन्।

नभन्दै परीक्षण सफल भयो। अचार बिक्दै गएपछि उनले उत्पादन बढाइन्।

पाँच वर्ष पूरा हुँदा बगैंचामा आँप, लिची र कटहर पनि फल्न थाल्यो। शान्तिले कागतीसँगै आँप, लिची र लसुनको अचार बनाउन थालिन्। यसपछि उनी गाउँघरबाट हाटबजार पनि पुग्न थालिन्। साताको तीन दिन हाट लाग्थ्यो। उनी अचारका बट्टा फिँजाएर बेच्न बसिन्।

हाटमा यसरी बसेको देखेर उनको गाउँसमाजका केही व्यक्तिले भने कुरा काटे।

‘यत्तिको घरानाको मान्छे हाटबजारमा बोरा ओछ्याएरै त नबसेको भए हुन्थ्यो भने,’ उनले सम्झिइन्।

उनले कसैको कुरा सुनिनन्। हाटमा गइरहिन्। पहिलो पटकमा एक बट्टा पनि बिकेको थिएन। दोस्रो पटक एक बट्टा बिक्यो। शान्तिले हार मानिन्। तेस्रो पटक गइन्। तीन बट्टा बिक्यो। यसपछि बिक्री बढ्दै गयो।

‘मैले हार मानिनँ। बजार गइराखेँ। केही दिनमै १५ बट्टा बिक्न थाल्यो,’ उनले भनिन्।

लगातार दुई वर्ष उनले यसै गरी हाटमा अचार बेचिन्।

यसपछि शान्ति र रामचन्द्रले घरेलु तथा साना उद्योग कार्यालयमा ‘आनन्दी अचार उद्योग’ दर्ता गराए।

गाउँका घरघर डुल्दै, हाटमा बोरा ओछ्याएर एक-एक बट्टा बेच्दै सुरू गरेका उनीहरू आजकाल महिनामा क्विन्टलका हिसाबले अचार बेच्छन्। शान्ति अचेल हाटबजार धाउँदिनन्। धनगढीमा पसल छ। शान्ति मेला–महोत्सवमा भने अचारको स्टल राख्न पुग्छिन्।



उनीहरूको बगैंचामा अहिले आँप १५ बोट, लिची ६० बोट, करौदा २० बोट, कागती सय बोट र कटहर ६ बोट छन्। सबैले फल दिन्छन्। केही नासपाती पनि लगाएका छन्।

उद्योगमा हाल नौ किसिमको अचार बन्छ; कागती, लप्सी, अकबरे खुर्सानी, मुला, आँप, अमला, तामा, लगायत। उनीहरूको बगैंचामा नभएका फलफूलको पनि अचार बनाउँछन्। लप्सी, लसुन, अमला र हरियो खुर्सानी प्रायः सुदूरपश्चिमका पहाडबाट मगाएर अचार बनाउने गरेको शान्तिले बताइन्।

सबै अचार धनगढी, अत्तरिया र महेन्द्रनगरमै खपत हुन्छ। अचार व्यवसाय राम्रो छ भए पनि यस्ता घरेलु उत्पादन बेच्न चुनौती पनि भएको शान्ति बताउँछिन्।

‘भारतीय अचारले हाम्रो घरेलु उत्पादन ओझेलमा परेको छ। उताको सस्तो हुन्छ। उपभोक्ताले हाम्रो महँगो भयो भन्छन्,’ उनले भनिन्।

शान्तिका अनुसार भारतीय आचारमा अप्राकृतिक रङ र रासायनिक वस्तु प्रयोग भएको हुन्छ। नेपाली अचारको तुलनामा सस्तो भए पनि स्वस्थकर हुँदैन।

‘उपभोक्ताले सस्तो खोज्छन्। केही भारतीय अचार त ५० रूपैयाँ किलोमा पनि पाइन्छ। हामीले कुरा बुझाउन सकेका छैनौं,’ उनले भनिन्।

शान्तिले उत्पादन गरेको मिक्स अचार प्रतिकिलो तीन सय रूपैयाँ र अकबरे खुर्सानीको सात सय रूपैयाँ पर्छ। उनले स्थानीय सामग्री प्रयोग गरेर, प्राकृतिक र रासायनिक वस्तु केही नमिसाएको अचार बनाउने उनको दाबी छ।

अचार व्यवसायको सबै काम शान्तिले र बगैंचाको काम रामचन्द्रले सम्हालिरहेका छन्। रामचन्द्र बगैंचामा कलमी गर्ने, सिँचाइ र मलखाद व्यवस्थापन, रोगकीरा नियन्त्रण लगायतका काममा व्यस्त हुन्छन्। केही फलफूलका कलमी बिरूवा उत्पादन गरेर बेच्छन् पनि। जिल्ला कृषि ज्ञान केन्द्रको अनुदानमा सानो ग्रीन हाउस पनि बनाएका छन्।

रामचन्द्रका अनुसार १५/२० हजार रूपैयाँमा थालेको काममा अहिले ५० लाख रूपैयाँ लगानी भइसकेको छ।मासिक आम्दानी एक लाखभन्दा बढी हुन्छ।

कुनै बेला बेरोजगार यो दम्पतीले अहिले अरूलाई रोजगारी दिएको छ। अचार उद्योगमा तीन जना तलबी कामदार छन्। काम धमाधम हुँदा केही दिन दैनिक २५ जनासम्मलाई खटाउँछन्।

देशमै बसेर, आफ्नै जमिनमा मेहनत गरेर कमाउन थालेपछि शान्तिको धारणा अहिले फेरिएको छ। कमाउन विदेशै जानुपर्छ भन्ने अब उनलाई लाग्दैन।

भन्छिन्, ‘विदेश जानुपर्छ र पर्दैन भन्ने बहसले हामीलाई स्वदेशमै व्यवसायी बनायो। श्रीमानले बगैंचा बनाउनुभयो। मैले अचार बनाएँ। कमाइको बाटो भेट्यौं, अरूलाई पनि रोजगारी दियौं।’

Copy link
Powered by Social Snap