२०७९ जेष्ठ ३
Advertisement

Advertisement

महाकाली माध्यमिक विद्यालय कसरी बन्न सफल भयो उत्कृष्ट?

स्कुलका शिक्षकहरू। तस्बिरः महाकाली माध्यमिक विद्यालय

‘हाम्रा शिक्षकहरू विद्यार्थीलाई ठग्नु हुँदैन। हाम्रो सम्मान गर्नु हुन्छ,’ आफ्ना शिक्षकहरूको माया र मेहनतको प्रशंसा गर्दै कक्षा १० का छात्र दीपन तामाङ भन्छन्।

कक्षा ९ को ‘डिग्निटी (Dignity)’ सेक्सन की छात्रा आयुष्मा बजगाईंलाई आफ्ना शिक्षकहरूको काम देखेर गर्व लाग्छ।


Advertisement


उनी भन्छिन्, ‘शिक्षकहरूले दिनरात नभनी खटेकोले गाउँमा हाम्रो विद्यालयको सम्मान छ। विद्यार्थीलाई कुनै पनि समस्या परेको बेला शिक्षकहरू परिवार जस्तै सहयोग गर्नु हुन्छ। विद्यार्थीहरूले कुनै पनि मानसिक तनाव लिनु पर्दैन।’

दीपन र आयुष्मा महाकाली माध्यमिक विद्यालयका विद्यार्थीहरू हुन्। यो विद्यालय काभ्रेस्थित मन्डनदेउपुर नगरपालिकाको चैनपुर गाउँमा छ। प्रधानाध्यापकको कुशल नेतृत्व र शिक्षकहरूको मेहनतबाट विद्यालयको रूपान्तरण हुन सक्ने उदाहरण यस विद्यालयमा देख्न सकिन्छ। 

२०१७ साल माघ ८ गते मन्डनदेउपुरकै सर्वझाङमा स्थापना भएको यस विद्यालय २०५४ सालमा पहिलो पटक एसएलसी परीक्षामा सामेल भएको थियो। 

पुरानो पुस्ताका स्थानीयहरू सुरूआती दिन सम्झिँदै भन्छन्, ‘पहिले शिक्षकहरूको पारिश्रमिकका लागि घर-घरबाट धान र चामल संकलन गरिन्थ्यो। छात्राहरू पढ्ने चलन थिएन। छात्रहरूलाई रुद्री, चन्डी लगायत कर्मकान्डका विषय पढाउने गरिन्थ्यो।’

घर भक्तपुर र ससुराली मन्डनदेउपुर भएका लक्ष्मीप्रसाद ढुंगेल यस विद्यालयका प्रथम प्रधानाध्यापक थिए।

यस विद्यालयमा २०५३ साल वैशाखमा झापाको दमक घर भएका एक शिक्षक आइपुगे। उनको नाम थियो- शिवकुमार पौडेल (लेखकसँग कुनै सम्बन्ध छैन)। त्यति बेलासम्म एसएलसी पास गरेका मान्छे गाउँमा जम्मा दस जना जति मात्र थिए। कोदालोले खनेको बाटोमा ट्र्याक्टर भर्खर हिँड्न थालेको थियो। शौचालय थिएन। उज्यालोका लागि मानिसहरू लालटिन जस्तो ‘लम्फा’ बाल्थे।

शिक्षणमा स्मार्टबोर्डको प्रयोग। तस्बिरः प्रज्वल खड्का

२०६४ सालमा उनै शिवकुमार विद्यालयमा प्रधानाध्यापक नियुक्त भए। उनको कार्यकाल अगाडिसम्म एसएलसीमा विद्यार्थीहरू ३३ प्रतिशतको हाराहारीमा उत्तीर्ण हुँदै आएका थिए। उनी प्रधानाध्यापक भएपछि ८० प्रतिशतभन्दा माथि नतिजा आएको छ।

शैक्षिक गुणस्तर मापन केन्द्रले गरेको मूल्यांकनमा महाकाली माध्यमिक विद्यालय नगरपालिकामा नै उत्कृष्ट अंक ल्याएर पुरस्कृत भएको छ। उत्कृष्ट भएकाले जिल्ला तथा स्थानीय तहबाट हरेक वर्ष विभिन्न पुरस्कार पाउँदै आएको छ। 

शिवकुमार प्रधानाध्यापक भएपछि शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ र विद्यालयलाई माया गर्ने व्यक्तिको भेला गरे। विद्यालयलाई राम्रो बनाउन सकिने तरिकाहरूमा छलफल गरे।

उनले पूर्व प्रधानाध्यापकहरू तथा अन्य विद्यालयका प्रधानाध्यापकहरूलाई नजिकबाट अध्ययन गरेका थिए। उनले अरूको सबल पक्षलाई निरन्तरता दिने र कमजोरीबाट सिक्ने बाटो तय गरे।

पदभार ग्रहण गरेपछि शिवकुमारलाई लाग्यो, धेरै प्रधानाध्यापकहरूलाई पारदर्शी नहुने आरोप लाग्ने रहेछ। प्रधानाध्यापकको भूमिकामा उनको पहिलो अठोट थियो, पारदर्शी हुने। 

उनले विद्यालयको सबै आर्थिक पाटो हेर्ने जिम्मा एक शिक्षकलाई दिए। विद्यालयका लागि सामग्रीहरू खरिद गर्न समिति नै बनाए।

सम्पूर्ण शिक्षकहरूको अगाडि आत्मबलका साथ उनी भन्छन्, ‘हाम्रो विद्यालयमा वार्षिक एक करोडभन्दा बढीको कारोबार हुन्छ। हामीले अहिलेसम्म एक रूपैयाँ पनि हिनामिना गरेका छैनौं।’

विद्यालयको सामाजिक परीक्षणको रिपोर्ट उनले आफ्नो कार्यकक्ष अगाडि नै राखिदिएका छन्। 

उनले दुई पटक कुशल प्रशासकको पुरस्कार थापिसकेका छन्। अरू विद्यालयमा प्रधानाध्यापक हुन उनलाई धेरै अनुरोध आएको रहेछ। उनलाई भने अझै यही विद्यालयमा काम गर्ने मन छ। उनका अझै धेरै सपनाहरू छन्।

नेपालका सामुदायिक विद्यालयहरूले गुणस्तर र शैक्षिक उपलब्धिका लागि संघर्ष गरिरहेका छन्। यस सन्दर्भमा शिवकुमारको नेतृत्वमा महाकाली मा.वि.को विभिन्न अनुभव र सिकाइहरू अन्य विद्यालयका लागि उपयोगी हुन सक्छ।

 शिक्षकका लागि सिकाइ कार्यशाला सहजीकरण गर्दै शिक्षक अप्सरा तिमल्सिना नेपाल। तस्बिरः महाकाली माध्यमिक विद्यालय

अन्य विद्यालयको भ्रमण

प्रधानाध्यापकको पदभार ग्रहण गरेपछि शिवकुमारले शिक्षकहरूसँग विभिन्न विद्यालयहरूको भ्रमण गरे। कहिले बाइकमा त कहिले बस रिजर्भ गरेर उनीहरू विभिन्न विद्यालय पुगे। सुरूआतमा उनीहरू बुटवलको कालिका माध्यमिक विद्यालय, सिन्धुपाल्चोकको सन्सारी माई माध्यमिक विद्यालय र ललितपुरको रातोबंगला विद्यालय पुगे।

अहिले सफल र नविन अभ्यास गरेका विद्यालयको भ्रमण गर्ने योजना विद्यालयको वार्षिक क्यालेन्डरमै छ। अचेल शिक्षकहरूसँगै विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक संघका सदस्यहरू पनि भ्रमणमा जान्छन्। हरेक विद्यालयको भ्रमणपछि उनीहरू छलफल गर्छन् र सिकेका कुराहरू विद्यालयमा लागू गर्छन्।

जिम्मेवारी बाँडफाँट

विद्यालयहरूमा सामान्यतया शैक्षिक (Academic) र व्यवस्थापकीय (Managerial) नेतृत्व प्रधानाध्यापक एक्लैले गरेको देखिन्छ। तर यो विद्यालयमा जिम्मेवारी शिक्षकहरूमा बाँडिएको छ। विद्यालयमा शैक्षिक संयोजक र व्यवस्थापकीय संयोजक छन्। अभिभावकले अंग्रेजी भाषा खोजेका कारणले उनीहरूले कक्षा ४ सम्म अंग्रेजी माध्यममा पढाउन सुरू गरेका छन्। अंग्रेजी माध्यमका लागि पनि छुट्टै संयोजक छन्। विद्यालयका अन्य कामहरू गर्न विभिन्न विभागीय समितिहरू बन्छन्।

विद्यालयका व्यवस्थापकीय संयोजक तथा गणित शिक्षक खिलनाथ पराजुली जिम्मेवारी बाँडफाँटले शिक्षकहरूलाई उत्प्रेरित गरेको बताउँछन्। उनको अनुभव छ, शिक्षकले व्यवस्थापनको जिम्मेवारी पाएपछि विद्यालयप्रति अपनत्व र जिम्मेवारीबोध बढ्ने रहेछ। 

आफूले लिएको जिम्मेवारीप्रति प्रतिबद्ध भएर शिक्षकहरूले काम गरेको देख्दा उनलाई लाग्छ, शिक्षण कर्म एक पेसा मात्र होइन, सेवा पनि हो। 

शिक्षकको सहभागिता

विद्यालयसँग सम्बन्धित हरेक विषयहरूमा शिक्षकहरूको सहभागिता हुन्छ। हरेक महत्वपूर्ण निर्णय शिक्षकहरू छलफल गरेर सामुहिक रूपमा गर्छन्। उनीहरूले कार्यशालाबाट ‘विद्यालय सुधार योजना’ (School Improvement Plan) बनाए। सरकारले तोकेको ‘निरन्तर मूल्यांकन प्रणाली’ (Continuous Assessment System) लाई परिमार्जन गरेर आफ्नै मोडल बनाए र नियमित रूपमा प्रयोग गर्न सुरू गरे।

पाठयोजना बनाउन पनि प्रधानाध्यापकले लादेनन्। शिक्षकहरूले सुरूमा छलफल गरेर कम्तीमा एउटा कक्षाको बनाउन सुरू गरे। त्यसमा सहजता हुन थालेपछि अन्य कक्षाहरूको पनि बनाउन थाले। 

शिक्षकहरूको जन्मदिनको उत्सव। तस्बिरः महाकाली माध्यमिक विद्यालय
विद्यालयका राम्रा अभ्यास आदानप्रदान कार्यक्रम। तस्बिरः महाकाली माध्यमिक विद्यालय

शिक्षकको पेसागत विकास

शिक्षकहरूको क्षमता विकासका लागि विद्यालयले निरन्तर प्रशिक्षण आयोजना गर्छ। पाठयोजना निर्माण, सूचना प्रविधिको प्रयोग, कार्यमूलक अनुसन्धान, शिक्षण सिकाइ विधि, जीवन उपयोगी सीप आदि विभिन्न विषयहरूमा विद्यालयले आन्तरिक रूपमै शिक्षकहरूको प्रशिक्षण गर्ने गरेको छ। केही विषयहरूमा बाह्य प्रशिक्षकलाई पनि बोलाउने गरेको छ। यहाँ शिक्षकहरू प्रायः आफूले सिकेर अरूलाई सिकाउने गर्छन्।

विद्यालयले सम्पूर्ण शिक्षकलाई सूचना प्रविधि प्रयोगका लागि प्रोत्साहन गरेको छ।  शिक्षकहरू आफैंले आफ्नो लागि कम्प्युटर किनेका छन्। शिक्षण सिकाइ गतिविधिमा सूचना प्रविधिलाई जोड्न शिक्षकहरू सक्षम भइसकेका छन्। 

शिक्षकलाई पुरस्कार र  सहयोगको व्यवस्था

शिक्षकहरू आफैंले शिक्षकका लागि पुरस्कारको मापदन्ड बनाएका छन्। मापदन्डमा ५० प्रतिशत अंकभार विद्यार्थीको सिकाइ उपलब्धिलाई प्रदान गरिएको छ।

हरेक वर्ष मापदन्डमा उत्कृष्ट अंक ल्याउने ५ जना शिक्षकलाई नगद ५ हजारसहित सम्मान गरिने रहेछ। शिक्षण सिकाइका लागि संघर्ष गरिरहेका शिक्षकलाई भने प्रधानाध्यापक, शैक्षिक संयोजक र विषयगत संयोजकले निरन्तर सहयोग गर्ने रहेछन्। 

सरसफाइको अभ्यास 

प्रधानाध्यापक हुनु अगाडिको दिन सम्झिँदै शिवकुमार भन्छन्, ‘विद्यालयको भौतिक स्वरूप कामचलाउ मात्र थियो। लिपपोत गर्ने चलन थिएन। शिक्षक जस्तै तहका निजामति कर्मचारीहरू चिटिक्क परेर आफ्नो कार्यालय जान्थे।’

उनलाई यो कुरा निकै खड्कियो। सरकारी विद्यालयको भवन किन थोत्रो देखिनु पर्ने? सरकारी विद्यालयका शिक्षक र विद्यार्थीहरू किन ल्याङफ्याङ तरिकाले आउने? 

उनलाई लाग्यो, विद्यालय भौतिक रूपमा पनि आकर्षक देखिनु पर्छ। उनले लिपपोत गर्ने चलन सुरू गरे। विद्यार्थी र शिक्षक मिलेर विद्यालय सरसफाइ गरे। २०७२ सालको भूकम्पपछि पुरानो भवन भत्कियो र करिब पाँच वर्ष उनीहरू अस्थायी टहरामा बसे। टहरामा बस्दा समेत उनीहरूले सरसफाइमा सम्झौता गरेनन्।

आजकाल सरसफाइलाई विद्यार्थी र शिक्षक दुवैले आत्मसात गरेका छन्।

उनले देखे, निजी विद्यालयमा अभिभावकले बालबालिकाको ख्याल गरेर चिटिक्क पारेर पठाउँछन्। तिनै अभिभावकले सरकारीमा पठाउँदा वास्ता गर्दैनन्। उनीहरूले सबै विद्यार्थी र शिक्षक चिटिक्क परेर विद्यालय आउनु पर्ने चलन सुरू गरे। 

अचेल हरेक बालबालिकाहरू दाँत माझ्ने ब्रस र मन्जन बोकेर विद्यालय आउँछन्। दिवा खाजापछि सबैले आफ्नो दाँत माझ्छन्।

२०७२ सालको भुइँचालोपछि अस्थायी टहरमा शिक्षक र विद्यार्थीहरू। तस्बिरः महाकाली माध्यमिक विद्यालय
विद्यालयको नर्सिङ रूम। तस्बिरः प्रज्वल खड्का

समुदायको सहभागिता

महाकालीको अर्को अभ्यास अभिभावकलाई विद्यालयका क्रियाकलापमा सहभागी गराउने हो। विद्यालयले अभिभावक वर्षमा कम्तीमा पाँच पटक विद्यालय आउनै पर्ने चलन सुरू गरेको छ। 

विद्यालयले सुरूमा अभिभावक बोलाउँदा सहभागिता एकदमै कम भएछ। शिक्षकहरूले अभिभावक विद्यालय आउन नचाहने कारण खोजेछन्। अभिभावकसँग कुराकानीको क्रममा उनीहरूले पत्ता लाएछन्, अभिभावक विद्यालय आउँदा उनीहरूलाई हामीले गाली मात्र गरेछौं। सन्तानको सिकायत मात्र गरेछौं। 

उनीहरूलाई झल्याँस्स भयो, गाली खान र सिकायत सुन्नकै लागि को नै विद्यालय जान चाहन्छ र!

त्यसपछि उनीहरूले अभिभावकलाई विद्यालयसँग जोड्ने तरिकाहरू खोजे। 

अभिभावकसँग विभिन्न विषयको ज्ञान र सीप हुन्छ। अभिभावकको समय मिलाएर विद्यार्थीहरूलाई विभिन्न सीप सिकाउने कक्षा सुरू गरे। अचेल अभिभावकहरू आफ्नो समयमा आएर विद्यालयमा विभिन्न कक्षाहरू लिन्छन्- आफ्नो समुदायको इतिहास सिकाउने, खाना पकाउने, असारे गीत गाउने, दुना-टपरी गाँस्ने, गुन्द्री बुन्ने, रुमाल बनाउने आदि। 

यसबाट विद्यालयमा अभिभावकको अपनत्व बढेको शिक्षकहरू बताउँछन्। अक्षर नचिनेका वा औपचारिक अध्ययन नगरेका आफ्ना अभिभावकहरूले पनि कक्षा लिएको देख्दा विद्यार्थीहरूको आत्मबल बढेको विद्यालयको अनुभव छ। 

अभिभावक प्रतियोगिता र पुरस्कार

विद्यालयले २०६७ सालदेखि कक्षा ३ सम्मका विद्यार्थीका अभिभावकका लागि पुरस्कार व्यवस्था गरेको छ। निरन्तर रूपमा विद्यालय आउने, आफ्ना सन्तानको पढाइप्रति चासो देखाउने र आफ्ना सन्तानलाई नियमित विद्यालय पठाउने अभिभावकलाई विद्यालयको वार्षिक कार्यक्रममा पुरस्कृत गर्छ। हालसम्म आफ्ना सन्तानको सिकाइका लागि पुरुषभन्दा महिला अभिभावक बढी सक्रिय भएकाले विद्यालयले यस पुरस्कारलाई ‘आमा पुरस्कार’ भन्दै आएको छ। 

विद्यालयले अभिभावकका लागि समुदायमा प्रचलित विभिन्न क्रियाकलापमा आधारित प्रतियोगिता सञ्चालन गर्छ। जस्तैः टपरी गाँस्ने, बत्ती कात्ने, अन्न केलाउने, आदि। 

साथै अभिभावकका लागि सचेतना जगाउने किसिमको हाजिरी जवाफ प्रतियोगिता पनि हुन्छ। यस प्रतियोगिताका केही नमूना प्रश्नहरू यस्ता हुने रहेछन्- विद्यालयले अभिभावकलाई वर्षमा कति पटक अनिवार्य विद्यालय आउनु भनेको छ? अभिभावक पुरस्कार पाउने मापदन्ड के के हुन्? हालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष को हुन्? 

टपरी बुन्ने प्रतियोगितामा आमाहरू। तस्बिरः महाकाली माध्यमिक विद्यालय
आमा पुरस्कार समारोह। तस्बिरः महाकाली माध्यमिक विद्यालय

मित लाउने अभ्यास

विद्यालयले सिकाइ आदानप्रदानका लागि बर्सेनि विभिन्न विद्यालयसँग मित लाउने गरेको छ। मित लाएपछि बेलाबेला शिक्षक आदानप्रदान गर्ने, विद्यार्थीहरूबीच सिकाइ साटासाट गर्ने तथा मैत्रीपूर्ण प्रतियोगिताहरू आयोजना गर्छ। काठमाडौंको बौद्धस्थित अरूणिमा माध्यमिक विद्यालयबाट सुरू भएको विद्यालयको मितेरी साइनो मन्डनदेउपुरकै ब्रह्मायणी माध्यमिक विद्यालयसँग पनि जोडिएको छ।

यो वर्ष बनेपाको पनौतीस्थित भालेश्वर माध्यमिक विद्यालय र नमोबुद्ध नगरपालिकाको जनहीत माध्यमिक विद्यालयसँग मित लाउने योजना छ। 

लभ बक्स

हरेक कक्षाकोठामा ‘लभ बक्स’ राखिएको छ। कुनै शिक्षकले सिकाएको तरिका विद्यार्थीलाई मन पर्‍यो भने विद्यार्थीहरूले उक्त शिक्षकका लागि मायाको केही शब्द राखेर त्यो बाकसमा राख्छन्। उक्त बाकसमा चाबी लाइएको हुन्छ। महिनाको अन्तिममा शिक्षक बैठकमा ती बाकस खोलिन्छ। अनि शिक्षकहरूले आफूले पाएको मायाका शब्दहरू हेर्छन्। सबैभन्दा धेरै पाउने शिक्षकले आफ्ना शिक्षण तरिकाहरू साटासाट गर्छन्।

‘यो तरिका हामीले दोलखाको हनुमन्तेश्वर माध्यमिक विद्यालयबाट सिकेका हौं,’ विद्यालयका अंग्रेजी माध्यम संयोजक दीपक विक्रम लामा सुनाउँछन्। उनका अनुसार यसबाट शिक्षकले विद्यार्थीको दृष्टिकोणबाट आफ्नो व्यवहार र शिक्षण नियाल्न सक्ने रहेछन्। 

नमूना कक्षासहितको शिक्षक बैठक

यो स्कुलमा शिक्षक बैठकमा तोकिएको शिक्षकले आफ्नो नमूना कक्षा प्रस्तुत गर्छन्। कक्षा हेरेपछि सबै शिक्षकले उक्त कक्षाबारे अन्तरक्रिया गर्छन्। कक्षाकोठाको छलफलपछि मात्र उनीहरू अन्य एजेन्डामा प्रवेश गर्छन्। 

यसको कारण बताउँदै प्रधानाध्यापक शिवकुमार भन्छन्, ‘भौतिक रूपमा विद्यालय जति नै सुविधा सम्पन्न भए पनि विद्यार्थीले सिक्न सके वा सकेनन् भन्ने कुराले विद्यालयको गुणस्तर निर्धारण गर्छ। यसका लागि हामीले गर्ने हरेक छलफलको केन्द्रमा बालबालिका र उनीहरूको सिकाइ नै हुन्छ।’ 

मित विद्यालयसँग कोसेली साटासाट। तस्बिरः महाकाली माध्यमिक विद्यालय
विद्यालयमा बाल उद्यान बनाउन शिक्षकहरू काम गर्दै। तस्बिरः महाकाली माध्यमिक विद्यालय

शिक्षकहरूको ‘टिम स्पिरिट’

विद्यालयको सबल पक्ष के हो भनेर मैले विद्यार्थी, अभिभावक र शिक्षकलाई सोधेँ। सबैको साझा जवाफ थियो, शिक्षकहरू मिलेर काम गर्छन्।

स्कुलका लागि शिक्षकहरू सार्वजनिक बिदाको दिन पनि खट्ने रहेछन्। 

‘हामी धेरै शिक्षकहरू बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्छौं,’ नेपाली विषयकी शिक्षक अप्सरा तिमल्सिना नेपाल भन्छिन्, ‘लकडाउनका बेला पनि हामीले बिदा लिएनौं। वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री बनायौं। वैकल्पिक तरिकाले विद्यार्थीहरूलाई सिकायौं।’

विद्यालयका लागि आवश्यक श्रमदानमा शिक्षकहरू पनि सहभागी हुन्छन्। शिक्षकहरूले नै श्रम गरेर एउटा बाल उद्यान बनाएका रहेछन्।

विद्यालय परिसर र कक्षाकोठामा शिक्षकहरूको मेहनत स्पष्ट देखिन्छ। कक्षाकोठाका भित्ताहरू समेत एक अब्बल पुस्तकालय जस्ता छन्। विद्यार्थी र शिक्षकको कलात्मक प्रस्तुति, विषयगत सन्दर्भ सामग्रीहरू, सूचना, आदिले कक्षाकोठाका भित्ताहरू रंगिएका छन्।  

शिक्षकहरू एकअर्कालाई परेका बेला परिवारजस्तै सहयोग गर्ने रहेछन्। उनीहरू विद्यालयमा एकअर्काको जन्मदिन पनि मनाउँछन्।

‘मलाई शिक्षक हुनुमा गर्व छ,’ सात वर्षअगाडि बैतडीबाट महाकाली मा.वि. आएका जया सिंह साउद आफ्नो विद्यालय नमूना उन्मुख भएकामा गर्व महसुस गर्छन्। उनी अंग्रेजी र सामाजिक विषयका शिक्षक हुन्। विद्यालयका शैक्षिक संयोजक पनि हुन्। 

केही वर्षअगाडि केही अभियन्ताहरूले एउटा अभियान चलाएका थिए- शिक्षकले चाहेमा गर्न सक्छन्।

महाकाली माध्यमिक विद्यालयको अभ्यासले देखाएको छ, प्रधानाध्यापक र शिक्षकहरूले चाहेमा विद्यालयको कायापलट गर्न सक्छन्। 

शिक्षकहरूको सूचना प्रविधि कार्यशाला। तस्बिरः महाकाली माध्यमिक विद्यालय
विद्यालयको प्रतिक्षालय। तस्बिरः प्रज्वल खड्का
विद्यार्थीहरू दिवा खाजा खाँदै। तस्बिरः महाकाली माध्यमिक विद्यालय
8दिवा खाजा तालिका, हरेक कक्षामा हुनु पर्ने सामग्रीहरूको सूची र कक्षा ९ का ‘डिग्ननिटी सेक्सनका’ विद्यार्थीहरूको सीपको सूची। तस्बिर- महाकाली माध्यमिक विद्यालय/प्रज्वल खड्का 

Copy link
Powered by Social Snap