२०८१ बैशाख ६

भारतबाट रेल त आयो तर सञ्चालन हुने टुंगो छैन

साभार: रातोपाटी

काठमाडौं । जनकपुर–जयनगर रुटका लागि रेल ल्याइए पनि सञ्चालनको टुङ्गो अझै लाग्न सकेको छैन । भौतिक संरचना तयार भएको लामो समयसम्म पनि रेलको इन्जिन र डिब्बा नहुँदा ती सबै संरचना मर्मत गर्नुपर्ने अवस्थामा पुगेको रेल्वेले भारतबाट इन्जिन र डिब्बा ल्याइसकेको अवस्थामा प्राविधिक तथा प्रशासनिक कर्मचारी, भौतिक संरचना मर्मत लगायतको अभावमा रेल सञ्चालन गर्न सकेको छैन । 

रेल सञ्चालनका लागि रेलको इन्जिन, डिब्बा, लिक लगायत सबै पूर्वाधार तयार भइसके पनि कहिलेबाट सञ्चालन हुन्छ भन्ने कुराको टुङ्गो अझै लाग्न नसकेको हो । ३५ किलोमिटर लामो रुटमा रेल सञ्चालनका लागि सातवटा स्टेशन छन् । त्यसका लागि कम्तीमा २०० जना कर्मचारी चाहिन्छ । हाललाई १२९ जना कर्मचारी माग गर्दै रेल्वे कम्पनी लिमिटेडले विज्ञापन गरेको छ । उक्त विज्ञापनअन्तर्गत आवेदन दिने अवधि असोज १२ गतेसम्मका लागि छ ।

रेल सञ्चालनका लागि तयारी भइरहेको रेल्वे कम्पनीले जनाएको छ । अरु पूर्वाधारहरु तयार रहे पनि जनशक्तिको अभावको कारण केही ढिलाइ भइरहेको रेल्वे कम्पनीको भनाइ छ ।
रेल्वे कम्पनीले जनशक्ति अभावका कारण रेल सञ्चालनमा ढिलाइ भएको बताए पनि भारतले निर्माण गरेको लिक तथा पूर्वाधार हालसम्म पनि औपचारिक रुपमा हस्तान्तरण नगरेका कारण सञ्चालनमा कठिनाइ भएको स्रोत बताउँछ ।


Advertisement


रेलको लिक तथा अन्य पूर्वाधार नेपाललाई भारत सरकारले कहिले हस्तान्तरण गर्ने भन्नेबारे हालसम्म टुङ्गो नलागेको जनकपुरस्थित रेल विभागका इन्जिनियर प्रमुख विनोद ओझाले बताए । 
रेल्वे कम्पनीले आवश्यक जनशक्तिका लागि विज्ञापन गरे पनि भारतबाट ल्याउने प्राविधिक कर्मचारीका बारेमा पनि अझै कुनै टुङ्गो लागेको छैन । रेल चलाउनका लागि भारतबाट कम्तीमा पनि २६ जना दक्ष जनशक्ति ल्याउनुपर्ने हुन्छ । त्यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएपनि रेल्वे कम्पनीबाट प्रकृया अझै शुरु नभएको स्रोतले जनाएको छ ।

भारतबाट रेल चलाउने चालक, संकेत देखाउने कर्मचारी तथा अन्य इन्जिनियरहरु ल्याउनुपर्ने हुन्छ । ती प्राविधिकहरुले यहाँका काम गर्नुको साथै नेपाली जनशक्ति पनि तयार गर्नेछ । भारतबाट ती प्राविधिकहरु नल्याएसम्म रेल सञ्चालन हुन नसक्ने स्रोत बताउँछ ।

समस्या यतिमात्र पनि होइन । लामो समयदेखि तयारी अवस्थामा रहेको रेल्वे लिक, आवश्यक भवनहरु मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । कतिपय भवनको झ्याल–ढोका फुटेको छ भने कतिपय ठाउँमा लिक मर्मत गर्नुपर्ने देखिएको छ । यी सबै मर्मत नगरी रेल सञ्चालन हुँदैन ।

भारतले ती भौतिक संरचना हस्तान्तरण नगरेका कारण मर्मतको जिम्मेवारी पनि भारतकै हुने अधिकारीहरुको भनाइ छ । विभागका एक कर्मचारीले भने, ‘मर्मतका लागि भारतलाई जानकारी पठाईसकेको छ तर हालसम्म उताबाट कोही आएको छैन । कोरोनाका कारण बोर्डर सिल भएको भन्दै उताबाट मर्मतका लागि कोही आउन मानिरहेको छैन ।’

यता, भारतीय पक्षले नेपाललाई रेल्वेको संरचना हस्तान्तरण गर्न तयार रहे पनि नेपाल नै हालसम्म तयार नभएको आरोप लगाइरहेको छ । नेपालस्थित भारतीय दूतावासका एक पदाधिकारीले भने, ‘भारत रेल्वेको पूर्वाधार तयार भएदेखि नै हस्तान्तरणका लागि तयारी अवस्थामा बसेको थियो तर नेपालको तयारी नपुगेको कारण हालसम्म हस्तान्तरण भएको छैन । नेपाल तयार हुने बित्तिकै हामी हस्तान्तरण गर्छौँ ।’
भारतीय कम्पनीले कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृहलगायतका पूर्वाधार बनाएको छ तर लामोसमय प्रयोगविहीन भएका कारण मर्मत सम्भार गर्ने अवस्थामा पुगेको हो । 

जयनगर–जनकपुर रेल्वेको पूर्वाधार तयार पार्ने सम्झौता भएपछि सन् २०१४ देखि भारतीय पक्षले रेलमार्ग निर्माण थालेको थियो । पूर्वाधार तयार गरी सन् २०१८ देखि रेल सञ्चालन गर्ने लक्ष्य रेल विभागले लिएको थियो । शुरुमा निर्माण कार्यमा ढिलाइ भएको थियो भने पछि भारतबाट रेलगाडी किन्न समय लाग्यो । त्यसैले पनि निर्धारित समयमा रेल सञ्चालन गर्न नसकेको रेल्वे कम्पनीले जनाएको छ । 

जयनगरबाट जनकपुरसम्म–कुर्थासम्म ३४ किलोमिटरमा रेल सञ्चालनका लागि तयारी अवस्थामा छ । यही रेलमार्गको जनकपुर–बर्दिबास खण्डको ३५ किलोमिटर रेलमार्ग निर्माण हुन बाँकी छ ।
उता, विराटनगर–जोगवनी नाकामा बन्ने रेलको काम भारतको तर्फबाट पुरा भएको दावी गरिएको छ । तर नेपाली अधिकारीहरुका अनुसार २०७५ कात्तिक १८ गते रेलको लिकमा रेल इन्जिनसमेत परीक्षण गरिएपछि रोकिएको काम अहिलेसम्म अगाडि बढेको छैन । 

Copy link
Powered by Social Snap