२०८१ बैशाख ८

भारतको संसदमा नेपालसँगको सम्वन्धबारे चर्काे बहस

Credit: OnlineKhabar

८ असोज, काठमाडौं । छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न नसकेको भनी यतिबेला भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको तीव्र आलोचना भइरहेको छ । प्रतिपक्ष इन्डियन नेसनल कंग्रेस, मिडिया र त्यहाँका प्राज्ञिक वर्गले मोदी नेतृत्वको सरकार छिमेक नीतिमा असफल भएको बताइरहेका छन् ।

पछिल्लोपटक भारतको छिमेकी नीतिको विषयले त्यहाँको दुवै संसद लोकसभा र राज्य सभामा समेत उच्च प्राथमिकता पाएको छ । कोरोनाका कारण सिर्जित समस्यालाई दृष्टिगत गरी छोटो समयका लागि बोलाइएको संसदका दुवै बैठकमा पछिल्लो एक सातायता मोदी सरकारको नेपाललगायत अन्य मुलुकसँग बिग्रदो सम्बन्धबारे गर्मागर्मी बहस भइरहेको छ ।


Advertisement


मंगलबार राज्यसभाको बैठकमा भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनलाई नेपाल र चीनको बीचमा पछिल्ला वर्षहरुमा भएका व्यापार र वाणिज्य सम्बन्धी सन्धि सम्झौता र त्यसले भारतलाई पार्ने प्रभावबारे निकै कडा प्रश्नहरु गरियो ।

सांसदहरुको प्रश्न थियो, पछिल्ला केही वर्षयता भारतसँगको निर्भरता घटाउनको नेपालले चीनसँग व्यापार र वाणिज्य लगायतका विषयमा विभिन्न सम्झौता गरेको छ, यो विषय भारत सरकारलाई थाहा छ कि छैन ? छ भने के कस्ता सम्झौता भएका छन्, त्यसको जानकारी दिनुपर्‍यो । अनि अर्काे प्रश्न पनि सोधियो, यस्ता सम्झौताले भारतको नेपालसँगको सम्वन्धमा कस्तो असर गर्छ ?

यस अगाडि नेपालसँगको सम्वन्धको बारेमा वि.सं. २०७२ सालको भूकम्पको समयमा निकै बहस भएको थियो । त्यसपछि भारतीय संसदमा बहस भएको अहिले नै हो

यी प्रश्नका उत्तर दिँदै भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनले भने, ‘नेपाल सरकारले जारी गरेको विज्ञप्ति अनुसार २०१९ को अप्रिल महिनामा भएको नेपालका राष्ट्रपतिको चीन भ्रमणको समयमा पारवहन र यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको छ ।’

यसै सम्बन्धमा उनले नेपालसँग लामो समयदेखिको भौगोलिक, सांस्कृतिक र जनता—जनता बीचको सम्वन्धको चर्चा गर्दै भने, ‘नेपालको ९० प्रतिशत ब्यापार भारतसँग रहेको छ र नेपालको तेस्रो मुलुकसँगको आयात—निर्यात भारतमार्फत नै हुने गर्छ ।’ राज्यमन्त्री मुरलीधरनले नेपालसँग आर्थिक र व्यापारिक, लगानी, विकास सहयोग, कनेक्टीभिटी र जनता जनता बीचको सम्वन्धलाई अझ सुदृढ गर्न प्रतिवद्ध रहेको बताएका थिए ।

त्यसैगरी अघिल्लो साता पनि भारतको लोकसभामा नेपाल लगायत अन्य छिमेकी मुलुकहरुसँगको सम्वन्धको बारेमा निकै बहस भएको थियो । विभिन्न दलका सांसदहरुले नेपाल, चीन, बंगलादेश, श्रीलंका, अफगानिस्तान र म्यानमारसँगको सम्वन्ध बिग्रेको हो भनी प्रश्न गरेका थिए । सम्वन्ध बिग्रेको हो भने के कारणले बिग्रेको भनी प्रश्न सोधेका थिए । सांसदहरुको अर्काे प्रश्न थियो, सम्वन्धलाई सुमधुर बनाउन के कदम चालिएको छ ?

पहिलो प्रश्नमा विदेश राज्यमन्त्रीले एक शब्दमा ‘होइन’ भन्ने उत्तर दिएका थिए । उनले भारतले छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताएका थिए । मन्त्री मुरलीधरनले छिमेकी मुलुकमा रहेका भारतका परियोजना र राजनीतिक सम्वन्धको बारेमा लामो ब्याख्या गरेका थिए ।

उनले चीन तर्फ संकेत गर्दै भारतले छिमेकीसँगको सम्वन्धलाई स्वतन्त्र रुपमा हेर्ने र कुनै मुलुकसँग जोड्न आवश्यक नभएको समेत बताएका थिए ।

यस अगाडि नेपालसँगको सम्वन्धको बारेमा वि.सं. २०७२ सालको भूकम्पको समयमा निकै बहस भएको थियो । त्यसपछि भारतीय संसदमा बहस भएको अहिले नै हो । भारत र चीनबाहेक, विशेषगरी भारतको नेपाल, बंगलादेश र श्रीलंकासँगको सम्बन्धको बारेमा नयाँदिल्लीमा निकै चर्चा हुने गरेको छ । विभिन्न कारणले यी सबै मुलुकसँगको सम्वन्धमा पछिल्लो समयमा चिसोपन आएको छ ।

नेपालसँग सीमा विवादका कारण सम्वन्धमा चिसोपन आएको छ भने बंगलादेशसँग पनि राम्रो सम्वन्ध छैन । भारतीय राजदूतलाई बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले ३ महिनासम्म भेट नदिएको खबर बंगलादेशका मिडियाहरुमा नै सार्वजनिक भएको थियो । सम्वन्धमा चिसोपन आइरहेकै समयमा भारतीय विदेश सचिवले अगष्टको तेस्रो साता बंगलादेशको भ्रमण गरेका थिए । तीव्र दबाबपछि मोदी सरकारले छिमेकीसँग सम्वन्त्र विस्तारका लागि केही कदम लिन थालेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी शनिबार श्रीलंकाका समकक्षी महिन्दा राजापाक्षेसँग भर्जुअल कुराकानी गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतको बीचमा विदेश सचिवस्तरीय वैठक अथवा परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने संयुक्त कमिसनको बैठक गर्ने विषयमा केही कुराकानी भएपनि खासै अगाडि बढ्न सकेको छैन ।

केही साताअघि स्थलमार्गबाट नयाँदिल्ली गएर साउथ ब्लकसँग परामर्श गरेर फर्केका नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उच्च सरकारी अधिकारी र नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन् ।

मोदी नेतृत्वको सरकारको यतिबेला छिमेकी मुलुकसँगको सम्वन्ध सुधार गर्नुपर्ने दबाबमा रहेको छ । बुधबार नै एक ट्वीट गदै इन्डियन नेसनल कंग्रेसका नेता राहुल गान्धीले भनेका छन्,  ‘कंग्रेसले निर्माण गरेको र केही शताब्दी लगाएर त्यसलाई सुदृढ बनाएको सम्वन्धको वेबलाई मोदीले ध्वस्त पारेका छन् । साथीविना छिमेकमा बस्नु एकदमै खतरनाक छ ।’ उनले दि इकोनोमिष्टमा प्रकाशित भारतको बंगलादेशसँगको सम्वन्ध कमजोर भएपनि भारतसँगको सम्वन्ध सुदृढ भयो पनि प्रकाशित समाचार शेयर गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

Copy link
Powered by Social Snap