२०८१ असार ६

विदेशबाट फर्केर गर्न थाले फूल खेती, भन्छन्- खुसी पैसाले मात्र मिल्दो रहेनछ!




इमानदारीपूर्वक कमाउन लगन चाहिन्छ। अझ बढी अठोट र योजना चाहिन्छ। यही सूत्र आत्मसात गरेर व्यवसायी बनेका छन् रोल्पाका लोकेन्द्र रोका मगर।

२०६० सालको दशक, मुलुकमा सशस्त्र द्वन्द्व चरम उत्कर्षमा थियो। तत्कालीन विद्रोही नेकपा माओवादीको उद्गम थलो मानिने रोल्पामा जनजीवन कठिन भयो। अशान्तिकै कारण लोकेन्द्रको पनि पढाइ छुट्यो। राज्य वा विद्रोही पक्ष कतै नलागी बस्छु भन्न पनि असम्भव हुँदै गयो। युवाहरूको जीवन खुकुरीको धारमा थियो।

गाउँमा बसेर कुनै हानी नहोओस्, बरू केही कमाइ होओस् भनेर बुबा, श्रीमती र दिदीहरूले उनलाई विदेश जान सुझाए। उनका एक छोरा पनि जन्मिसकेका थिए।


Advertisement


अनि परिवारै छाडेर, २०६० सालमा, २० वर्षको उमेरमा लोकेन्द्र रोजगारीका लागि खाडी मुलुक कतार गए।

द्वन्द्वको आगो दन्किरहेको समयमा देश छोड्दै गर्दा लोकेन्द्रले भने जीवनमा खुसीको फूल फुलाउने सपना सजाएका थिए। पैसा कमाएर सारा खुसी किन्न चाहन्थे।

‘विदेशमा राम्रो कमाइ हुन्छ भन्ने थियो। म श्रमिक भिसामा गएँ,’ उनले भने।

उनको शैक्षिक योग्यता ८ कक्षा पास मात्रै थियो, खास सीप वा दक्षता थिएन।

कतारमा उनको काम सडकमा थियो। कालोपत्रे गर्ने काममा खट्नुपर्थ्यो। दुःख भए पनि विदेश आउन लागेको ८५ हजार रूपैयाँ ऋण सम्झेर मेहनत गरे। दोहोरो ड्युटी गरे। आजभोलि भन्दाभन्दै आठ वर्ष बित्यो। त्यो अवधिमा १५ लाख रूपैयाँ घर पठाउन सके।

‘विदेशमा श्रम नगरी पैसा पाइँदैन र पैसाले खुसी किन्न सकिँदैन भन्ने कुरा मैले बुझ्दै गएँ,’ उनले भने।

यता देशमा शान्ति आएको थियो। बुबा, श्रीमती र दिदीबहिनीहरू घर फर्किन कर गर्न थालेका थिए। लोकेन्द्रलाई पनि फर्किनु नै उचित लाग्न थालेको थियो। 

२०६८ सालमा उनी घर फर्के।

देशको अवस्था सहज भएको थियो। लोकेन्द्रको कमाइले उनका बुबाले दाङको घोराही उपमहानगरपालिका–१४, स्वर्गद्वारी आश्रम टोल, झिँगौरामा घडेरी किनेर घर बनाएका थिए। परिवार त्यही घरमा बस्न थाल्यो। लोकेन्द्र कुनै राम्रो पेसा गर्न चाहन्थे। के गर्ने, टुंगो थिएन। यत्तिकैमा झन्डै एक वर्ष बित्यो।

उनको घरअगाडि थोरै जमिन खाली थियो। लोकेन्द्रले त्यहीँ खनीखोस्री तरकारी रोपे, केही फूल फुलाए। त्यही मेसोमा उनले २०७० सालमा आफ्नो आँगनभरि सयपत्री फूल रोपे।

त्यही वर्ष उनका बुबा गजवीर बितेका थिए। घरमा चाडपर्व आउने भएन। आँगनभरि सयपत्री फूल फक्रिन थालेको छ, नजिकै तिहार छ। तर घरमा माला उन्नु छैन, पूजा गर्नु छैन।

आफन्त र छिमेकीहरूले तिहारमा फूल बेच्न सल्लाह दिए। फूल किन्न दिनू भन्दै मानिसहरू घरमै आउन थाले। उनले बजारको भन्दा सस्तैमा बेचे। एक दिनमै करिब चार हजार रूपैयाँको व्यापार भयो।

‘त्यही बेला फूल व्यवसायमा सम्भावना देखेँ अनि फूलखेती गर्ने सोचेँ,’ उनले भने। 

श्रीमती जोखी पनि उत्साहित भइन्।

उनीहरू फूलका जात, खेती गर्ने तरिकाको खोजीमा लागे। डिजिटल जमानामा यस्तो जानकारी लिन अन्यत्र डुल्नै परेन। अनि २०७१ सालमा सुरू भयो व्यावसायिक पुष्प खेती।

खेती र व्यापार सोचेजस्तै भयो। लोकेन्द्रले यसमै आफ्नो भविष्य देखे। जमिन बढाएर २०७६ सालमा आफ्नो जन्मस्थल रोल्पाको पहिचान झल्किने गरी ‘जलजला पुष्प खेती’ नाम राखे।

‘बगैंचामा पस्दा मुस्कुराइरहेका फूलहरू देखेर मन रमाउँछ। भित्रैदेखि आनन्द लाग्छ,’ उनी भन्छन्, ‘बल्ल मैले बुझेँ खुसी पैसाले मात्रै मिल्ने रहेनछ। आफ्नो श्रमले रंगीविरंगी फूल फुलाउँदा पनि मिल्दो रहेछ।’



लोकेन्द्र र जोखीका छोरा अनुश १८ वर्षका भए। स्कुल जान्छन्, फुर्सदमा फूलबारीमै काम सघाउँछन्। छोरी आस्था पनि सानोतिनो काम सघाउन सक्ने भएकी छन्। श्रीमान–श्रीमती सदाबहार माली भएका छन्।

गत वर्ष तिहारमा दस लाख रूपैयाँको सयपत्रीको फूल र माला बेचेको लोकेन्द्रले बताए। बेर्नासमेत बेचेर गत वर्ष १५ लाख रूपैयाँको कारोबार भयो। सिजनअनुसार जात हेरेर फूलका बिरूवा ३५ रूपैयाँदेखि एक हजार सात सय रूपैयाँसम्म बेच्छन्। उनको नर्सरीमा कम्तीमा दुई सय प्रजातिका फूलका बिरूवा उपलब्ध छन्।

दाङमा हुने ठूला सभा, समारोह र फूल चाहिने कार्यक्रममा जलजला पुष्प खेतीबाटै फूलमाला पुग्छ। व्यवसायमा मेहनत गर्ने हो भने विदेशबाट फूल किन्न नपर्ने लोकेन्द्रको विश्वास छ।

उनी सरदर एउटा खादाको मूल्यमा एउटा सयपत्रीमाला दिन्छन्। यो नीतिले माला प्रयोग बढेको उनको भनाइ छ।

‘हामी ७५ देखि ८० रूपैयाँमा एउटा माला दिन्छौं। अलिक राम्रो खादालाई पनि त्यति नै पर्छ,’ उनी भन्छन्, ‘स्वागत र सम्मानमा खादाको साटो फूलको माला लगाइदिँदा आकर्षक देखिन्छ।’

सबै वस्तु विदेशबाट किनेर देश समृद्ध हुँदैन भन्ने उनलाई लागेको छ।

‘मैले थोरै भए पनि फूलमा पैसा विदेश जानबाट रोक्न सकेको छु। देशको समृद्धिका लागि गफ होइन, सबैले रूचिको काम सिक्न र मेहनत गर्न आवश्यक छ,’ उनले भने।

जोखिमै नहुने व्यवसाय हुँदैन, फूलखेतीमा पनि छ। कहिलेकाहीँ तिहार र सयपत्री फुल्ने समय फरक परिदिन्छ।

बारीमा थरीथरीका फूल ढकमक्क देखेर फोटो खिच्न र टिकटक बनाउने आउनेहरू पनि हुन्छन्। यसरी आउनेलाई भने लोकेन्द्रले प्रवेश निषेध गरेका छन्।

‘कति राम्रो फूलबारी, भिडिओ-फोटो खिचौं है भन्दै पस्न खोज्छन्। त्यसरी पस्दा फूलमा क्षति हुन्छ। पस्न नदिन बाध्य छु,’ उनले भने।

लोकेन्द्रले एक कट्ठा जमिनमा व्यावसायिक पुष्प खेती सुरू गरेका थिए। हाल दुई बिघाभन्दा बढीमा गर्दैछन्।

आफ्नै घरपछाडिको १२ कट्ठा जग्गा वार्षिक ६० हजार रूपैयाँमा लिएका छन्। यहाँ बाह्रै महिना सिँचाइ सुविधा छ। घरको अगाडि नौ कट्ठा र वडा नम्बर १७, सुनपुरमा एक बिघा जमिन वार्षिक २०/२० हजार रूपैयाँ तिर्ने गरी लिएका छन्। नर्सरी आफ्नै आँगनमा पनि छ।

उनले भारतको ‘कलकत्ते’ र थाइल्यान्डको ‘आगा’ जातको सयपत्री लगाएका छन्। आउने तिहारलाई लक्षित गरेर अधिकांश जग्गामा सयपत्री रोपेका छन्। बिउ पनि भारत र थाइल्यान्डबाटै किन्छन्। यसो गर्दा उत्पादन केही महँगो भने पर्ने गरेको छ।

‘कृषि उत्पादन र भण्डारणमा राज्यले सहयोग गर्नुपर्छ,’ लोकेन्द्र भन्छन्, ‘यसतर्फ तीनै तहका सरकारले ध्याद दिऊन् भन्ने मेरो आग्रह हो।’

लोकेन्द्रले घोराही उपमहानगरपालिका, कृषि ज्ञान केन्द्र दाङ र लुम्बिनी प्रदेश सरकारबाट केही अनुदान भने पाएका थिए।

Copy link
Powered by Social Snap