२०८१ बैशाख ८

केपी ओली पूरा कार्यकाल प्रधानमन्त्री, पार्टीको काम प्रचण्डले गर्ने

साभार: सेतोपाटी

नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने गरी प्रतिवेदन बुझाएको छ।

महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदलले पार्टीका कामहरूको जिम्मेवारी भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन सुझाव दिएको छ।

‘सरकार एउटा अध्यक्षले र पार्टी अर्को अध्यक्षले चलाउने भनिएको छ,’ श्रोतले भन्यो, ‘पार्टी काममा प्रचण्ड पूर्ण सक्रिय हुने तर प्रधानमन्त्री ओलीसँग सल्लाह गर्ने भनिएको छ। त्यस्तै प्रधानमन्त्री ओली सरकारको काममा सक्रिय रहने तर प्रचण्डसँग सल्लाह गरेर अघि बढ्ने भन्ने छ।’

यसअघि मंसिर ४ गते पनि प्रधानमन्त्री ओली पाँचै वर्ष प्रधानमन्त्री रहने र प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने निर्णय भएको थियो।

कार्यदलको सुझावसँगै अब प्रधानमन्त्री ओलीले राजीनामा दिने प्रसंग सकिएको छ। यसअघि प्रधानमन्त्री ओलीले आफू महाधिवेशनसम्म अध्यक्ष र अर्को निर्वाचनसम्म प्रधानमन्त्री रहने अडान राख्दै आएका थिए।

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने, त्यसो नभए एक पद छाड्नै पर्ने अडानमा ओली इतर समूह रहेको थियो।

यही अडानका कारण नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

त्यस्तै कार्यदलले अमेरिकी विकास परियोजना एमसिसी परिमार्जन नगरी पारित गर्न नहुने सुझाव दिएको छ। कोभिड-१९ को रोकथामका लागि प्रभावकारी तरिकाले अगाडि बढ्न सुझाव दिएको कार्यदलले सीमा विवादलाई कुटनीतिक तवरले समाधान गर्नुपर्ने भनेको छ।

प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउन कार्यदल बनाउने समेत प्रतिवेदनमा उल्लेख छ। महाधिवेशन चैतमै सम्पन्न गर्ने तथा पार्टीलाई विधि अनि पद्धतिमा चलाउन समेत कार्यदलले सुझाव दिएको छ।

प्रचलित मान्यताअनुसार राजनीतिक नियुक्तिहरू गर्ने, पार्टी एकतालाई आत्मसात गर्दै दुई अध्यक्षले सल्लाह गरेर अघि बढ्ने लगायत कुरा पनि प्रतिवेदनमा छन्। सरकारलाई प्रभावकारी बनाउने भने पनि यसको पुनर्गठनबारे भने प्रतिवेदनमा स्पष्ट उल्लेख छैन।

यद्यपि सरकार पुनर्गठन र मुख्यमन्त्री हेरफेर दुई अध्यक्षको आपसी समझदारीमा गर्ने आशय प्रतिवेदनमा उल्लेख भएको स्रोतको भनाइ छ।

साउन ३० गते गठन भएको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य थिए।  नेकपाभित्र अस्तित्वमा रहेका तीन समूहनिकटका नेता कार्यदलमा रहेको र सर्वसम्मतिले प्रतिवेदन बुझाएकाले नेकपाभित्रको विवाद समाधानको बाटोमा गएको देखिन्छ।

कार्यदलका संयोजक पौडेल र सदस्य पोखरेल प्रधानमन्त्री ओलीनिकट हुन् भने शर्मा र भूसाल प्रचण्डनिकट हुन्। रावल र पाण्डे वरिष्ठ नेता माधव नेपालनिकट हुन्।

पार्टीमा उत्पन्न समस्या समाधानका लागि विभिन्न कुराहरू, स्थायी कमिटीमा उठेका कुराहरूको सम्बन्धमा राय-सुझाव दिएको पनि कार्यदलका सदस्य भीम रावलले सेतोपाटीलाई बताए।

पार्टीमा उत्पन्न समस्या, अन्तरविरोधको समाधान खोज्ने र पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने आशयबाट प्रतिवेदन बुझाइएको उनले बताए।

कार्यदलले बुझाएको प्रतिवेदन दुई अध्यक्षले अध्ययन गरेर सचिवालयमा पठाउने र सचिवालयपछि स्थायी कमिटीमा लैजाने तयारी छ।

Copy link
Powered by Social Snap