२०८१ बैशाख २३

तीन दिदीभाइको ‘त्रिकाया’, भन्छन्- अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्छौं




नेपालमा उत्पादित लुगाले स्वदेशमा मात्र होइन, विदेशमा पनि राम्रो बजार पाउन थालेको छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र प्रोत्साहन गर्ने धेयले युवा व्यवसायीहरू नेपालमै विभिन्न परिहन बनाउने उद्यममा लागेका छन्।

यस्तै उद्यमीको एक कम्पनी हो ‘त्रिकाया निटवेयर’।

६ वर्षअघि बजार प्रवेश गरेको त्रिकायाले कस्मिरी पस्मिना, ऊन र कटनको पहिरन उत्पादन गर्छ। यहाँको विशेष पहिरन हातले बुनेको लुगा हो।


Advertisement


त्रिकायाका सञ्चालक हुन् श्वेता तुलाधर, निकेश ताम्राकार र रोनेश तुलाधर।

श्वेताका अनुसार बजार प्रतिस्पर्धात्मक भएकाले नेपालमा बनेको लुगाले नेपालमै बजार पाउन मुस्किल छ। धेरै मानिसमा नेपाली लुगा गुणस्तरीय हुँदैन भन्ने धारणा पाइन्छ। मानिसहरूको यही धारणा चिर्ने र बुनेको लुगा प्रवर्द्धन गर्ने उद्देश्यले त्रिकाया स्थापना गरेको उनले बताइन्।

‘स्वदेशमा उत्पादित लुगाले पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने त्रिकायाले प्रमाणित गर्दैछ। यहाँ पाइने सबै लुगा गुणस्तरीय ऊन र कपडाको हुन्छ। फिनिसिङ पनि उत्कृष्ट हुन्छ,’ कम्पनीको इनोभेसन र डिजाइन विभाग सम्हालिरहेकी श्वेताले भनिन्।

तीन जनाको संयुक्त लगानीमा सञ्चालित त्रिकायाको सामाजिक सञ्जाल र ग्राहक व्यवस्थापनको जिम्मेवारी रोनेशले सम्हालेका छन्। उत्पादन र निगरानीको काम निकेशको जिम्मामा छ।


त्रिकाया निटवेयरका लुगा यसको आउटलेट (पसल) सँगै फेसबुक र इन्टाग्राम पेजमार्फत अर्डर गर्न सकिन्छ। कम्पनीले बालबालिका र वयस्कका लागि लुगा बनाउँछ। महिला र पुरूष दुवैका लागि। यसका मुख्य उत्पादन टिसर्ट, स्विटर, सल, खास्टो, पछ्यौरा, पन्चो, टोपी, गलबन्दी, पञ्जा, ज्याकेट लगायत हुन्। जाडो र गर्मी दुवै मौसमका लुगा पाइन्छ।

देशका मुख्य सहरहरूमा त्रिकायाका उत्पादन डेलिभरी हुन्छ। अमेरिकी, युरोपेली र अन्य केही अन्तर्राष्ट्रिय बजारमा पनि पुगेको छ।

यहाँ एक हजारदेखि १८ हजार रूपैयाँसम्मका पहिरन पाइन्छन्। गुणस्तरका आधारमा मूल्य निर्धारण गरिने रोनेशले बताए।

‘हामी उचित मूल्य राख्छौं। गुणस्तरमा सम्झौता गर्दैनौं यहाँबाट एकपटक लुगा किनेका ग्राहक फेरि आउँछन्,’ उनले भने, ‘नेपाली बजारमा पठाउने र निर्यात हुनेको गुणस्तर फरक हुँदैन।’



हाल कम्पनीमा सय जना कर्मचारी छन्। यीमध्ये ८५ जना कारखानामा र बाँकी आउटलेटहरूमा काम गर्छन्। यसको आउटलेट काठमाडौंको गैरीधारा र धरानको पुतलीलाइनमा छ। धरानको आउटलेट सुरू भएको करिब दुई महिना मात्र भयो।

‘हामी पूर्वी भेगमा बजार विस्तार गर्न चाहन्थ्यौं। त्यसमा सबैभन्दा पहिला धरान उपयुक्त लाग्यो,’ निकेशले भने।

काठमाडौं निवासी त्रिकायाका तीन जना सहकर्मी निकट पारिवारिक सम्बन्धका हुन्। आपसमा दिदीभाइ, दाजुभाइ साइनोका। श्वेता उमेरले ४० पुगिन् भने निकेश ३२ र रोनेश ३० वर्षका भए।

व्यवसायको प्रेरणा भने श्वेताका बुबा दीपकरत्नबाट पाएका हुन्।

श्वेताका बुबा दीपकरत्नले २०४२ सालमा नेपालमा ‘निटिङ एन्ड वुभिङ (बुनाइ)’ व्यवसाय सुरू गरेका थिए। उनले बुनाइको काममा दक्ष जनशक्ति उत्पादन गरे। कस्मिरी र ऊनको लुगाको बजार विस्तार गरे।

उनले हङकङमा टेक्स्टाइल इञ्जिनियरिङ पढेका थिए। हङकङकै प्रविधि नेपाल भित्र्याएर व्यवसायीकरण गरे।

‘बुबाले नेपालमा कपडा बुन्ने कामलाई व्यावसायिक बनाउनुभयो। त्यसअघि नेपालमा बुनेको लुगाको माग विदेशमा थियो तर यहाँ व्यावसायिक बजार थिएन,’ श्वेताले भनिन्।

नेपालमा सशस्त्र द्वन्द्वको समयमा धेरै कारखाना बन्द भए। दीपकरत्नको पनि बन्द भयो। द्वन्द्व सकिएपछि पनि कारखाना चलाउने उनको सपना पूरा हुन सकेको थिएन।

त्यही सपना दीपकरत्नकी छोरी श्वेता, भान्जा निकेश र भतिज रोनेशले साकार पारेका हुन्।

त्रिकाया सुरू गर्नुअघि श्वेता बैंकमा जागिरे थिइन्। रोनेश पढाइ पूरा गरेर घरमै थिए। निकेश उत्पादनकै क्षेत्रमा संलग्न थिए।

‘मामा (दीपकरत्न) बुनाइको व्यवसायमा पोख्त हुनुहुन्थ्यो। म पनि पस्मिना र ऊनको लुगा बनाउन इच्छुक थिएँ,’ निकेशले भने, ‘मामाकै प्रेरणा र मार्गदर्शनमा हामीले झन्डै चार दशकअघि उहाँले सुरू गरेको व्यवसाय पुनर्जीवित गर्ने सोच्यौं।’

तीन युवाले सोच, मेहनत र जाँगर मिलाएर त्रिकाया निटवेयर सुरू गरे। त्रिकाया संस्कृत शब्द हो जसको अर्थ हुन्छ तीन वटा शरीर। बौद्ध धर्मावलम्बीहरू त्रिकायालाई बुद्धका तीन रूप पनि मान्छन्। निकट सम्बन्धका तीन जना मिलेर व्यवसाय गर्ने भएपछि ब्रान्ड नाम त्रिकाया रोजेको उनीहरू बताउँछन्।

उनीहरू समयको मागअनुसार आधुनिक तरिकारले अघि बढ्न चाहन्थे। यसैअनुसार योजना बनाए। पस्मिना र ऊनको लुगा बनाउने दक्ष जनशक्ति व्यवस्थापनमा दीपकरत्नले सहयोग गरे।

उनीहरूले भोटेबहालमा एउटा सानो कारखाना र आउटलेट (पसल) खोले। अलिपछि कारखाना ललितपुरको हरिसिद्धिमा सारे। अहिले पनि त्यहीँ छ। भोटेबहालमा भने उत्पादनअघिको परीक्षण हुन्छ।

‘त्रिकायाको मुख्य पहिचान हस्तनिर्मित, जैविक र नेपालमा बनेको पहिरन नै हो। अर्को पहिचान हो उच्च गुणस्तर,’ र सुरूआती दिनमै ग्राहकले खुब मन पराए,’ रोनेशले भने।

व्यापार बढ्दै गएपछि उनीहरूले आउटलेट ठमेलको छाया सेन्टरमा सारे। त्यही बेला कोरोना संक्रमण महामारीको प्रतिकूल परिस्थिति आइपर्‍यो। सञ्चालकहरू त्यो आउटलेट बन्द गर्ने निर्णयमा पुगे। यसपछि व्यापार अनलाइन माध्यममा सीमित भयो।

२०७८ असोजमा फेरि गैरीधारामा नयाँ आउटलेट सुरू गरे। व्यापार बढ्दै गएपछि धरानमा पनि सुरू गरेका हुन्।

त्रिकायाका सञ्चालकहरूको लक्ष्य नेपालमा उत्पादित पस्मिना र ऊनको लुगा अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्नु हो।

‘नेपालमा बुनाइ उद्योग सानो छ। बजार प्रतिस्पर्धी छ। गुणस्तरीय भए मात्र अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न सकिन्छ,’ श्वेता भन्छिन्, ‘यसैकारण हामी गुणस्तरमा सचेत छौं।’

त्रिकायाको बलियो र सकारात्मक पक्ष रोजगारी सिर्जना पनि हो। नेपाली युवाहरू सामान्य रोजगारीका लागि विदेश गइरहेका बेला थोरै भए पनि रोजगारी सिर्जना गर्न सक्दा सन्तोक लाग्ने उनले बताइन्।

‘भविष्यमा बुनाइ प्रशिक्षण स्कुल सञ्चालन गर्ने लक्ष्य छ हाम्रो,’ उनले भनिन्, ‘यसबाट अझै ठूलो रोजगारी सिर्जना हुने विश्वास लिएका छौं।’

Copy link
Powered by Social Snap