साभार: सेतोपाटी
झापाकी देविका बुढाथोकीलाई नयाँ–नयाँ डिजाइनका झोला बनाउन असाध्यै मनपर्छ। उनी सानैदेखि आफूले बोक्ने झोला र हातेपर्स आफैं बनाउँथिन्।
‘साथी र आफन्तले ‘आहा, कस्तो राम्रो, मलाई नि बनाइदेन’ भन्थे। यति पैसा लाग्छ भनेर बनाइदिन्थेँ,’ ३५ वर्षीया देविका सुनाउँछिन्।
उनी पहिल्यैदेखि खेर गएका चिजबाट कसरी नयाँ उत्पादन गर्ने भनेर सोचिरहिन्थन्। कहिले पराल, कहिले पटेर, कहिले थाकल, कहिले मकैका खोस्टा त कहिले खेर गएका प्लास्टिकबाट झोला बनाउनु उनको दैनिकी थियो।
केटाकेटी बेलादेखि सिलाइबुनाइ जानेकी उनको झोला बनाउनु सीप मात्र थियो, अहिले व्यवसाय नै बनेको छ।
पोहोरदेखि उनले मकैका खोस्टाका झोला चीन पठाउन थालेकी छन्। डेढ वर्षमा ४८ हजार वटा निर्यात भइसकेको उनी बताउँछिन्। अहिले भने चीनबाट वार्षिक दस लाख वटाको माग आएको छ।
कसरी सुरू भयो त उनको यस्तो झोला व्यवसाय?
यसको कथा उनको बालापनको संघर्षसँग जोडिन्छ।
२०४१ सालमा इलामको नाम्सालिङमा जन्मेकी देविका परिवारकी जेठी सन्तान हुन्। उनका एक भाइ छन्। पछि उनीहरू सपरिवार झापा सरे। २०५० सालमा क्यान्सरका कारण आमाको मृत्यु भयो। आमाको मृत्युपछि बुवा पनि बेपत्ता भए। त्यो बेला पाँच वर्षीय भाइलाई फुपूको जिम्मा लगाएर उनी छिमेकीको घरमा बसिन्।
उनको पढाइ बीचमै छुट्यो।
‘म कक्षामा सधैं पहिलो हुन्थेँ। पढाइ राम्रो भएकाले कक्षा उक्लिएकी थिएँ। ९ वर्षकी हुँदा त ८ कक्षा पढ्थेँ,’ उनी भन्छिन्।
अर्काका घर बसे पनि उनलाई कहिल्यै ‘काम गर्ने’ को दर्जामा नराखिएको उनी बताउँछिन्। ‘आफ्नै छोरीजत्तिकै माया गर्नुहुन्थ्यो उहाँहरूले,’ देविकाका निम्ति अहिले माइती त्यही घर हो। बेलाबेला आउजाउ गर्छिन्।
‘म बसेको घरका दुई छोरी थिए। एउटी छोरी पछि विदेश गइन्,’ उनी भन्छिन्, ‘मलाई पनि बाहिर जाऊ भन्नुहुन्थ्यो। तर मलाई यहीँ केही काम गर्छु भन्ने थियो।’
त्यो परिवारले एक दिन सोध्यो, ‘के काम गर्छ्यौ त?’
त्यही बेला उनले भनेकी थिइन्, ‘सिलाइकटाइ गर्छु।’
उनका अनुसार त्यो समय सिलाइको काम खुब चलेको थियो। महिलाहरूलाई आम्दानीको बाटो भएकाले प्रायः घरका छोरी सिलाइ सिक्थे। २०५४ सालमा वडा कार्यालयले नै सिलाइ सिकाउने कार्यक्रम ल्यायो, निःशुल्क भने थिएन।
छ महिने उक्त तालिम एक-एक महिनामा बाँडिएको थियो। एउटा महिनाको कक्षा १५ दिनसम्म चल्थ्यो, जसका लागि ८० रूपैयाँ तिर्नुपर्थ्यो।
देविकाको रहरले पखेटा पायो।
‘मैले एकदमै चाँडो सिकेँ। एउटा महिनाको काम सिक्न मलाई दुई-तीन दिन मात्र लाग्यो,’ उनी भन्छिन्, ‘पूरा ६ महिने कोर्स मैले २६ दिनमै सकेँ।’
चाँडै काम सिकेको देखेर प्रभावित भएका तालिम शिक्षकले देविकालाई आफ्नो सिलाइ मेसिन दिए रे। शुल्क पनि नलिएको उनी बताउँछिन्।
तालिमपछि देविकाको आम्दानीको स्रोत बन्यो सिलाइकटाइ। एक महिनापछि नै उनले जागिर पनि पाइन्। उनका अनुसार त्यही बेला उनले महिनाको १२ हजार रूपैयाँ पाउँथिन्।
बिहान–बेलुकी अरू काम पनि गर्थिन्। राति एक-दुई घन्टा मात्र सुतेर काम गर्दा आम्दानी राम्रो हुँदै गयो। आफैं कमाउन थालेपछि उनले भाइलाई सँगै राखेर पढाउन थालिन्। पछि जग्गा किनबेचको काम पनि गरिन्।
सानैदेखि काममा सक्रिय देविकाको बिहे पनि चाँडै भयो, १६ वर्ष टेक्दा-नटेक्दै।
Advertisement
उनी बिहे चाँडो गर्नुको कारण खुलाउँछिन्, ‘२०५६ सालमा भर्खर १६ लागेकी थिएँ। आमाबुवा नभएकी छोरीलाई जोगिएर हिँड्नै गाह्रो भएपछि कलिलैमा बिहे गर्ने निर्णय गरेँ। अहिले सम्झिँदा त्यति ठूलो निर्णय त्यति सानो उमेरमा कसरी गर्न सकेँ जस्तो लाग्छ।’
शनिश्चरेका बुढाथोकी थरका उनका श्रीमान ठेक्कापट्टाको काम गर्थे।
‘त्यतिखेर झापामा हाम्रो परिवारको ठूलै नाम थियो,’ उनले श्रीमानको घरबारे बताइन्, ‘ठूला घरकी बुहारी, टेलर चलाउन गाह्रै भयो।’
तै उनलाई श्रीमानको साथ रह्यो। २०५७ सालमा शनिश्चरे बजारमा एउटा मेसिन राखेर सिलाइ पसल खोलिन्। टेलर राम्रो चल्थ्यो।
‘जस्तो भन्यो त्यस्तै सिलाइ दिने भएकाले भिड हुन्थ्यो,’ उनी भन्छिन्, ‘कोटबाहेक म सबै सिलाउँथेँ। बच्चाको कोट त बनाउँथेँ, ठूलाको भने त्यति माग नहुने भएकाले चासो पनि दिइनँ।’
देविकाले सिलाइ सिकाउन पनि थालिन्। तीन महिने कक्षा दिन्थिन्। एक जनाले १२ हजार तिर्नुपर्थ्यो।
‘आफूले सिक्दैदेखि कहिले अरूलाई सिकाउने होला भन्ने सोच्थेँ,’ उनी थप्छिन्, ‘मैले जतिलाई सिकाएँ, उनीहरू सबैले पसल खोलेको देख्दा खुसी लाग्छ।’
काम राम्रो भएपछि उनले १३ वटा मेसिन र ११ जना कामदार राखिन्। यही व्यवसायका आडमा उनी निजी व्यवसाय क्षेत्रको नेतृत्वमा पुगिन्। उद्योग वाणिज्य संघ, शनिश्चरेको पहिलो महिला सदस्य बनिन्। अहिले उनी उद्यमशील महिला महासंघ, केन्द्रको अध्यक्ष छन्।
२०७३ सालमा उनी परिवारसहित काठमाडौं आइन्। गाउँको पसल आफ्नी देउरानीलाई जिम्मा लगाएकी छन्। काठमाडौंमा उनी व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रसँग जोडिइन्।
तीन वर्षअघि प्रवर्द्धन केन्द्रकै सहयोगमा उनी चीन पुगेकी थिइन्। चीन जाँदा आफैंले बनाएको झोला बोकेकी थिइन्, मकैको खोस्टाले बनेको।
त्यहाँ उनको झोला धेरैले मन पराए। मनपराउनेहरूले सोधिखोजी गरे। ‘बनाइदिन सक्छौ हामीलाई, कति सक्छौ?’ भनेर सोधे।
‘म एक्लैले बनाउने, धेरै सक्दिनँ भनेपछि जति सक्छौ त्यति देऊ भने। काठमाडौंमा बुटिकको काम गर्ने सोच थियो। पछि झोलाको अर्डर आयो, यतै लागेँ,’ उनले झोला नै रोज्नुको कारण खुलाइन्।
चीनबाट फर्केपछि ‘रिजनल ह्यान्डीग्राफ्ट’ दर्ता गरी थोरै झोला बनाएर उता पठाइन्। माग बढ्दै गयो।
‘अहिले चीनबाट वार्षिक दस लाख वटाको माग छ,’ उनी भन्छिन्, ‘त्यसैले मैले झोलाका विभिन्न डिजाइनबारे तालिम लिएँ। १३ जिल्लाका दिदीबहिनीसँग सहकार्य पनि थालेकी छु।’
उनले पहिले १५ जना महिलालाई झोला बनाउने तालिम दिइन्। तालिम पाएकाहरूले गाउँगाउँ गएर अरूलाई सिकाउँछन्। देविकाका अनुसार बारा, सुन्दरीजल, भक्तपुर, झापा, कञ्चनपुर, बर्दिबास, लालबन्दी, काकडभिट्टा लगायत ठाउँमा तालिम दिइरहेका छन्। हरेक जिल्लामा एक सय ५० जना हाराहारीको समूह छ।
‘जहाँ झोलाको कच्चापदार्थ पाइन्छ, त्यहाँका दिदीबहिनीलाई सिकाएका छौं,’ उनले भनिन्।
चिनियाँले पठाएको डिजाइनअनुसार नै झोला बनाउनुपर्छ। मकैको खोस्टाबाट बन्ने झोलामा राखिने फूलबुट्टा भने नेदरल्यान्ड्सबाट आउँछ। यो बुट्टा नेपालमै पनि बन्छ। तर चिनियाँको मागअनुसार आयात गर्नुपरेको उनी बताउँछिन्।
चीनबाट नयाँ डिजाइन आउनेबित्तिकै सहकार्यका सबै जिल्लामा उनी तालिम दिन्छिन्।
‘हामी कच्चापदार्थ र तालिम निःशुल्क दिन्छौं। कतिले त खाजा पनि दिनुस् भन्छन्,’ उनी अनुभव सुनाउँछिन्, ‘हामी पनि तपाईंहरूजस्तै हो, खाजा चाहिँ नमाग्नुस् है भन्छौं। व्यावसायिक हिसाबमा तपाईंहरूलाई जोड्न खोजेको भनेर बुझाउँछौं।’
उनका अनुसार अहिले तेह्र सय महिलाले झोला बनाउन सघाउँछन्। तीमध्ये दुई जना काठमाडौंमा छन् भने बाँकीले आ-आफ्ना घरबाटै पठाउँछन्। यसरी बनाएका झोला उनीहरू आफूले बेच्न भने पाउँदैनन्।
सुरूआती डेढ महिनामा उनीहरूले ५-६ सय वटा मात्र बनाएका थिए। मान्छे र रफ्तार बढ्दै गएपछि अहिले १५ दिनमा नौ सय वटासम्म बन्छन्।
‘तालिममा व्यस्त भएकाले पहिलो चरणमा तीन सय वटा झोला मात्र चीन पठाएका थियौं। अहिले १२ सय वटासम्म दिन सकेका छौं,’ उनले भनिन्।
एउटा झोलाको १ हजार ६ सय ५० रूपैयाँ लिएर चीन पठाइन्छ। देविकाका अनुसार झोला बनाउनेलाई प्रतिगोटा ६ सय रूपैयाँ दिइन्छ। कच्चापदार्थ र पठाउने शुल्क जोड्दा लागत १ हजार ३ सय ५० सम्म पर्छ।
नेपालमा भने यो झोला बिक्री हुँदैन। उत्पादन बढाएपछि यहाँ बेच्ने उनको योजना छ।
‘मलाई सानैदेखि नेतृत्वदायी भूमिकामा काम गरौं भन्ने लाग्थ्यो। ११–१२ वर्षको उमेरमा सिलाइ सिकिरहँदा आफू कहिले सिकाउन सक्ने हुन्छु होला भन्ने लाग्थ्यो,’ देविका भन्छिन्, ‘मेरो सपना पूरा भएको छ।’
(यो लेख सेतोपाटीमा पहिलो पटक २०७६ चैत ७ गते प्रकाशित थियो।)