२०८१ बैशाख १६

मिथिलामा ‘जुड–शीतल’ को उमङ्ग




बढ्दो गर्मीबीच मिथिलामा आज नयाँ वर्ष २०८० प्रारम्भसँगै जीवनमा शीतलताको कामना गर्दै मनाइने ‘जुड–शितल’ पर्व सुरु भएको छ ।

सौरमास गणनाले विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भसँगै यो पर्व दुई दिनसम्म मनाइन्छ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर ‘जुड–शीतल’ वा ‘जुडशीतल’ भन्न लागिएको यहाँ विश्वास गरिन्छ । पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ ।


Advertisement


बढ्दो गर्र्मीमा शीतल दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने यो विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । आज मैथिल ‘जुड–शीतल’ पर्वको पहिलो दिन ‘सतुवाइन’ मनाउँदैछन् । पर्वको दोस्रो दिन अर्थात् वैशाख २ गते घर–घरमा परिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् ।



नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरूको भनाइ छ । यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा चना (बदाम)को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा रहेको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका (संस्कृत क्याम्पस)का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ ।

सहकालको प्रतीक मानिने यो पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरू (मिथिलावासी) बीच साथीसङ्गीसँग धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने परम्परा छ । नयाँ वर्ष प्रारम्भमै धुलो र हिलो खेल्ने यो परम्पराले कृषिकर्ममा निरन्तर जुटिरहन प्रेरित गरेको पाका मैथिल बताउँछन् । “नयाँ वर्षसँगै प्रकृतिसँग कामको कमी नहोस् भन्ने पर्व र परम्पराको सन्देश हो”, बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका प्रधानाध्यापक हरिदेव महतो भन्नुहुन्छ । पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ ।

Copy link
Powered by Social Snap