२०८१ बैशाख २७

जसले जापानमा सिकेको सीपबाट बनाए ‘क्यान्डी’

घरबाट थालेको काम बनिसक्यो २ करोडको उद्योग




ललिपप क्यान्डी कसलाई मन पर्दैन र!

बालखदेखि युवा–वयस्कसम्मको रोजाइमा पर्ने ललिपप क्यान्डी सामान्य भाषामा भन्दा एक प्रकारको चकलेट हो।

बजारमा विभिन्न प्रकारका ललिपप क्यान्डी पाइन्छन्। प्याकेटमा ‘बेस्ट स्वीट्स’ लेखेको देख्नुभयो भने थाहा पाइराख्नुहोस्, त्यो नेपाली ब्रान्डको हो।


Advertisement


पाँच वर्ष जापानमा काम गरेर आएका काठमाडौं, सामाखुसीका केदार राजवाहकले ‘बेस्ट स्वीट्स’ ब्रान्डको ललिपप क्यान्डी बजारमा ल्याएका हुन्। यो विष्णुमाया कन्फेक्स्नरी प्रालिबाट उत्पादन हुन्छ। यसको उद्योग सामाखुसीमा छ।

‘बजारमा पाइने अरू ब्रान्डभन्दा बेस्ट (उत्तम) छ भनेर ग्राहकलाई बुझाउन ब्रान्ड नाम ‘बेस्ट स्वीट्स’ राखिएको हो,’ केदारले भने, ‘यसमा धेरै नयाँ त केही छैन तर हाम्रो उत्पादन राम्रो छ।’

उनका अनुसार बेस्ट स्वीट्सको ललिपप क्यान्डी धेरै महँगो पर्दैन। तौल र आकार हेरेर पचासदेखि एक सय पचास रूपैयाँसम्म छ।

बेस्ट स्वीट्स ब्रान्डका विभिन्न आकार र स्वादका ललिपप क्यान्डी छन्। गोलाकार (स्वर्ल) क्यान्डी सानो दुई इन्च गोलाइको, मध्यम साढे दुई इन्चको र ठूलो तीन इन्च गोलाइको छ। मूल्य क्रमशः ५० रूपैयाँ, ८० रूपैयाँ र १२० रूपैयाँ पर्छ।

मुटु आकारको (हार्ट) क्यान्डी पनि छ, यसको मूल्य १५० रूपैयाँ छ। खरवुजाको टुक्रा जस्तो (वाटरमेलन), मुस्काएको अनुहार भएको (स्माइल), वर्गाकार (स्क्वायर) र त्रिभूज (ट्रायंगल) आकारका क्यान्डीको पनि १५० रूपैयाँ पर्छ।

त्यस्तै क्रिसमस-ट्री र ट्विस्टेड (बटारिएको लाम्चो आकारको), लिप्स (ओठ आकारको) र रोज (गुलाफको फूलजस्तो) क्यान्डीको मूल्य सय रूपैयाँ छ।

ललिपप क्यान्डी प्रायः रंगीबिरंगी हुन्छ र पारदर्शी प्लास्टिकमा प्याकिङ गरिन्छ।

केदारका अनुसार बेस्ट स्वीट्सका उत्पादन काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरू; पोखरा, भरतपुर, बुटवल, जनकपुर, बर्दिवास, धरान इलाम लगायतमा पनि पाइन्छ। 

‘यी क्यान्डी उत्पादन मितिले दुई वर्षसम्म खान मिल्छ,’ केदारले भने, ‘कम्पनीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गुणस्तरको प्रमाणपत्र पनि लिएको छ।’

यो कम्पनीले उत्पादन सुरू गरेको पाँच वर्ष भयो। कम्पनीमा १५ जना कर्मचारीले काम गरिरहेका छन्। 

केदार क्यान्डी व्यवसायमा प्रवेश गर्नुमा विदेशी भूमिको योगदान छ। उनी सन् २००५ मा पढाइको सिलसिलामा जापान गएका थिए। पाँच वर्ष जापान बसे, पढे र क्यान्डी बनाउने कम्पनीमा काम गरे।

बसाइ लम्बिँदै जाँदा उनलाई आफ्नै देशमा आफ्नै केही व्यवसाय गर्न सके राम्रो हुन्थ्यो भन्ने लाग्यो। यस्तो सोच गाढा हुँदै आयो। नभन्दै उनी क्यान्डी बनाउने अनुभव लिएर सन् २०१० मा स्वदेश फर्के।

‘यता आएपछि मैले क्यान्डीबाहेक केही पनि सोचिनँ। यसकै व्यवसायको योजना बनाएँ। परिवारमा आफ्नो योजना सुनाएँ,’ उनले भने, ‘तर मेरो कुरामा कसैको रूचि भएन।’

त्यसैले उनी बुबाले चलाउँदै आएको पारिवारिक व्यवसायमै लागे। आज, भोलि भन्दाभन्दै पाँच वर्षभन्दा बढी बित्यो। उनले क्यान्डी बिर्सिन भने सकेनन्। अन्ततः उनी क्यान्डी बनाउने आफ्नो सीप र व्यवसायको सम्भावनाबारे बुझाउन सफल भए। घरसल्लाह मिलेपछि उनले बजार अध्ययन गरे। उत्पादन, आयात, मूल्य, बिक्रीको परिमाण, मुख्य बजार, कच्चा पदार्थ लगायत अध्ययनमै ६ महिना बित्यो। 

‘बजारमा भारत, थाइल्यान्ड र अन्य केही देशबाट आएको क्यान्डी पाइँदो रहेछ,’ उनले भने, ‘नेपालमै बनाएर व्यापार गर्न सकिन्छ भन्ने भयो। अनि त यहीँ बनाएर बेच्ने हुटहुटी नै चल्यो।’

उद्योग कहाँ राख्ने? सुरूमा अलमल भयो। परीक्षणका रूपमा घरमै काम गर्ने विचार गरे। केही कच्चा पदार्थ वीरगन्जबाट र केही भारतबाट मगाए। काम सुरू भयो। परिवारका सदस्यले पनि सिक्दै गए। ढंग नपुगेर केही बिग्रियो पनि तर उत्पादन राम्रो हुँदै गयो। अब आयो व्यापारको पालो।



केदार केही नमूना बोकेर एक वितरककहाँ पुगे। वितरक सामान लिन सहमत भयो। बेस्ट स्वीट्स क्यान्डी बजारमा पुग्यो। यसपछि त अरू वितरकले पनि खोजी गर्न थाले। 

व्यापार बढ्दै गएपछि केदारले सामाखुसीमै थोरै जग्गा भाडा लिएर उद्योग तयार गरे। आफ्नै बचतको रकम लगानी गरे। कम्पनी दर्ता गरे। यतिन्जेल परिवारका सदस्यहरू मिलेर काम गर्दै थिए। काम बढ्दै गएपछि परिवारले मात्र नभ्याउने भयो। कर्मचारी राख्न थाले।

उनले क्यान्डीका आकार र स्वादमा विविधता पनि थप्दै गए। योसँगै वितर र कर्मचारी पनि थपिँदै गए। व्यापार बढ्दै गएपछि केदारले ठिमीमा जग्गा भाडा लिएर उत्पादन बढाए। दुईतिर गरेर ६० जना कर्मचारी थिए। क्यान्डी बनाउने सबै काम हातैले हुन्थ्यो।

ठिमीमा काम गरेको ६ महिनापछि कोरोना फैलियो। लकडाउनले व्यापार–व्यवसाय ठप्प भयो। ठिमीको उद्योग चल्न सकेन। बन्द भयो। हाल त्यहाँ गोदाम मात्र छ।

लकडाउन लम्बिँदै गएपछि कर्मचारी कटौती गर्नुपर्ने बाध्यता आइलग्यो।

‘व्यापार घटेर एक चौथाईमा झर्‍यो। कर्मचारी ६० जनाबाट घटाएर दस जना मात्रै राख्न सक्ने अवस्था भयो,’ उनले भने।

कोभिडको मारमा परे पनि उनी क्यान्डी व्यापारबाट उत्साहित थिए। परिस्थिति सामान्य भएपछि पाँचवटा मेसिन किने। हातले गर्ने धेरै काम मेसिनबाटै हुन थाल्यो।

‘कोरोनाअघि सबै काम हातैले गर्थ्यौं। यसो गर्दा जनशक्ति धेरै चाहियो, खर्च बढ्यो,’ उनले भने, ‘कोभिडपछि मेसिन राख्यौं। काम सजिलो भएको छ, उत्पादन पनि बढेको छ।’

आवश्यकता अनुसार अरू मेसिन पनि थप्दै जाने उनको योजना छ।

दुई वर्षको लकडाउन खेपेर बिस्तारै उठ्दै गरेको व्यवसाय अहिले फेरि आर्थिक मन्दीले शिथिल बन्दै गएको केदारले बताए। मन्दीको असर सधैं नरहने र सुधार हुँदै व्यापार बढ्ने उनको अपेक्षा छ।

विदेशमा काम गर्दा जानेको सीप र आँटले घरैबाट सुरू उनको व्यवसायमा हालसम्म दुई करोड रूपैयाँभन्दा धेरै लगानी भइसकेको छ। सुरूका दिनमा परिवारकै सदस्यले नपत्याएको व्यवसाय अहिले पारिवारिक भएको छ।

केदार बजार विस्तार गर्न अझै कम मूल्यको क्यान्डी बजार पुर्‍याउने तयारी गर्दै छन्।

‘केही महिनामै ग्राहकले पाँच र दस रूपैयाँको ललिपप क्यान्डी पाउनेछन्,’ उनले भने।

Copy link
Powered by Social Snap