२०८१ बैशाख ६

नेकपा विवाद सहमतितर्फ उन्मुख

विश्लेषक भन्छन्, ‘पार्टी सर्वोच्चताभन्दा सत्ता सेयरिङ प्रमुख मुद्दा’

काठमाडौँ । झण्डै चार महिनायता चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सहमतितर्फ उन्मुख भएको छ । सरकार र पार्टी सञ्चालन प्रभावकारी नभएको भन्दै गत वैशाखयता पार्टी कमिटी बैठकमै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामाको विषय उठेपछि चर्किएको विवादले झण्डै पार्टी नै विभाजन हुन पुगेको थियो ।

अन्ततः पार्टी फुटेमा जनताको जनादेशको अपमान ठहरिने महसुस गरेका सो पार्टीका शीर्ष नेताहरु पुनः सहमतिबाटै अघि बढ्न उन्मुख भएपछि विवाद मत्थर हुँदै गएको आभास हुन थालेको छ भने ओलीको राजीनामाको विषय पनि तत्काललाई टर्ने देखिएको छ । 

यसअघि ओली–प्रचण्डका एक्लाएक्लै वार्ताले समेत समस्याको समाधान नदिइरहेका बेला गत शुक्रबार पुनः दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी समस्या समाधान खोज्न ६ सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदल गठनबारे सुरुमा विवाद देखिए पनि त्यसलाई सचिवालय बैठकले अनुमोदन गर्दै वैधानिकता प्रदान गरेपछि कार्यदल सहमतिको अन्तिम मस्यौदा तयार गर्न व्यस्त छ । 

कार्यदललाई स्पष्ट टीओआर नदिए पनि नेकपाको आन्तरिक जीवनमा देखापरेका समस्या समाधान के हुनसक्छ भन्ने सूत्रको खोजीनीति भइरहेको छ । त्यसक्रममा पार्टी एकतासमेत बलियो बनाउनेगरी कार्यदलले काम गर्ने त्यसका सदस्य तथा संयोजकले सुरुमै बताएका थिए । यद्यपि उनीहरुले प्रतिवेदन तयार नपार्दासम्म मिडियामा नबोल्ने आचारसंहिताका कारण प्रतिवेदनबारे भइरहेको प्रगतिका बारेमा केही खुलाएका छैनन् । 

सो पार्टीका नेताहरुका अनुसार पार्टीमा सैद्धान्तिक वैचारिक विषय विवादको कारण भनिए पनि अन्ततः त्यो पार्टीभित्रका गुटहरुको व्यवस्थापन कसरी गर्ने भन्ने नै प्रमुख मुद्दा बनेको छ । त्यसमा दुई अध्यक्ष केपी ओलीदेखि प्रचण्डसमेतको कार्यविभाजन, मन्त्री, मुख्यमन्त्री, राजनीतिक नियुक्ति तथा आगामी महाधिवेशनपछिको नेतृत्वका विषयमा कार्यदलले प्रस्ट खाका बनाउनेछ र सोहीअनुसार नेताहरुको व्यवस्थापन गरिने छ । यसो गर्दा यसअघि ओलीको राजीनामाको विषयले प्रमुखता पाए पनि अब भने त्यो विषय छायामा पर्नेछ । किनभने तत्कालीन दुई पार्टी एकता गर्दाका अध्यक्षसमेत रहेका र महाधिवेशनसम्म दुवै जना अध्यक्ष रहने भन्ने सहमतिका कारण पनि ओलीको राजीनामाबाट प्रचण्डपक्ष पछि हट्ने सङ्केत देखिएको छ । 

के त्यसो भए ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नु पर्दैन त ? यो प्रश्नमा यसअघि ओेलीको राजीनामा आफैले मागेको बताएका अध्यक्ष प्रचण्डको बोली घुमाउरो ढङ्गले फेरिएको छ । 
एपी वान टेलिभिजनमा बुधबार प्रसारित ‘द बाभ्रो डेल्टा सो’ कार्यक्रममा प्रचण्डले भनेका छन्, ‘अब महाधिवेशनमा जाने भन्ने कुरा भएपछि पदका कुरा गौण भए । हिजो पनि हाम्रो विवाद पदका लागि भएको थिएन’, प्रचण्डले अझ अघि बढ्दै भने, ‘पार्टी एकताका कुरा गर्दा या गठबन्धनसहित निर्वाचनमा जाँदा र पार्टी एकता गर्दा पनि हामीबीच पदको बार्गेनिङ भएको थिएन’, प्रचण्डको यो भनाइबाट अब ओलीको राजीनामा माग्ने पक्षमा प्रचण्ड छैनन् । 
सोही कार्यक्रममा विवाद समाधानको सूत्र फेला परेको हो त ? भन्ने प्रश्नमा प्रचण्डले सबै तयार भइ नसकेको जबाफ दिएका छन् । ‘सबै तयार भइ नै सकेको भन्ने होइन । कार्यदलले आफ्नो कार्यादेशअनुसार सुझाव दिएपछि त्यसलाई औपचारिक रूपले स्थायी समिति बैठकमा लैजान्छौँ । समितिबाट निर्णय भइसकेपछि मात्रै त्यो देखिने परिणामका रूपमा आउँछ । फेरि समझदारी, सहमतिका प्रक्रिया सुुरु गरेका छौँ र पार्टी र सरकारका कामलाई प्रभावकारी बनाएर जानुपर्छ भन्ने ‘रियलाइजेसन’मा हामी पुगेका छौँ । स्थायी समिति बैठकबाट एउटा ‘रिजुलेसन’ पास गरेर उपयुक्त समयमा केन्द्रीय समितिको बैठकमा लैजाने हाम्रो कार्यक्रम छ,’ प्रचण्डले भनेका छन् । त्यति मात्रै होइन प्रचण्डले अहिले साढे चार सय जनाको बैठक बस्न व्यावहारिक रूपमा सम्भव नहुने पनि स्पस्ट बताएका छन् । 

‘कोरोनाको प्रकोप घटेपछि केन्द्रीय समिति बैठक बसी महाधिवेशनमा जाने भन्ने हो । अहिलेको विवाद÷बहसको राजनीतिक, सैद्धान्तिक, व्यावहारिक, साङ्गठनिक र सांस्कृतिक समाधान हामीले चाहेका हौँ’, प्रचण्डको भनाइ छ । 
अध्यक्ष प्रचण्डले क्याबिनेट पुनर्गठन र प्रदेश सरकारमा थपघट र संवैधानिक नियुक्तिबारे प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, आफू र प्रधानमन्त्रीबीच छलफल भएको भन्दै उनले प्याकेजमै सहमति गर्नेे सोचाइ रहेको बताएका छन् । 

प्रचण्डले अब पुराना कथा अर्थात झगडाको कथातिर अहिले आफू नजाने भन्दै यसलाई एउटा प्रक्रियामा लगेर टुङ्ग्याउने बताएका छन् । तर प्रचण्डले नेताहरुबीच पदका लागि झगडा गरेका हुन् कि भन्ने पर्न गए पनि त्यो सत्य नभएको दाबी गरेका छन् ।

नेकपामा फेरिएको सिनारियोले के सङ्केत गर्छ त ? वाम विश्लेषक समेत रहेका डा. खगेन्द्र प्रसाईंको विश्लेषणमा पार्टीको पद्धति पुनस्र्थापित गर्ने र राजकीय मामलामा राजनीतिक हिसाबले पार्टीको सर्वोच्चता स्थापित गर्नेभन्दा सत्ता र शक्तिमा ठिकैको साझेदारी गर्ने स्थितिमा गएजस्तो देखिन्छ नेकपा । ‘यस्तो गर्दा कुनै एकपक्ष वञ्चित हुनु नपर्ने वा मार्जिनलाइज हुनु नपर्ने बाटोतिर गएको देखिन्छ’, प्रसाईंले भने कार्यदलको खाका बाहिर नआएसम्म नेकपा यसरी नै अघि बढ्छ भनेर विश्लेषण गर्न हतार हुने भए पनि बाहिर आएका केही विषयहरुको अध्ययन गर्दा त्यो सङ्केत देखिएको छ । ‘राजनीतिक मामलामा पार्टीको सर्वोच्चता कायम गर्नेभन्दा पनि सत्ता सेयरिङ प्रमुख मुद्दा हुँदै गएको देखिन्छ’, प्रसाईंको भनाइ छ । #नेकपा

Copy link
Powered by Social Snap